![]()
कठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाम गठवन्धनको नाममा एक दलिय व्यवस्था स्थापना गर्ने अभ्यासमा लागेका दलहरुलाई आगामी निर्वाचनमा परास्त गर्नुपर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस काठमाडौंको अगुवा कार्यकर्ता भेलालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै नेता सिंहले प्रजातान्त्रिक शक्ति एक ठाउँमा आएकाले अब यसलाई कसैले हराउन नसक्ने दावी गर्नुभयो । उहाँले लामो समय लोकतन्त्रको खोल ओढेर घिउ खाएका कम्युनिष्ट पार्टीले अब मुलुकमा एक दलिय शासन व्यवस्थाको सपना देख्न थालेको आरोप लगाउनुभयो । बिश्वमै समाप्त भैसकेको एक दलिय शासन प्रणाली कुनैपनि हालतमा पूरा नहुने उहाँले बताउनुभयो । यदि एमाले र माओवादी केन्द्रले चाहे जस्तो हुने हो भने उत्तर कोरिया र क्युवाका जनताले जसरी दुःख भोग्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका युवा नेता गगन थापाले वाम तालमेल खेलमात्र भएकाले यसलाई महत्व दिनु जरुरी नभएको धारणा राख्नुभयो । नेपाली कांग्रेसले बोलेका सबै काम पूरा गरेकाले अब डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले कांग्रेसको नेतृत्वलाई एकजुट भएर जान सुझाव दिएका थिए ।


