![]()
डोटी । राष्ट्रपति बिद्या भण्डारी डोटीका बिभिन्न क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बिहीबार दिनभरी खप्तड राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्नुकासाथै डोटी सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरको दर्शन पनि गर्नुभयो ।
राष्ट्रपति भण्डारी जुम्ला हुँदै डोटी पुग्नु भएको हो । प्रसिद्ध पर्यटकीय एवं धार्मिक स्थल खप्तडको दृश्यावलोकनपछि उहाँले शैलेश्वरी पुग्नु भएको हो । खप्तड क्षेत्रका त्रिवेणी धाम, खप्तड बाबाको आश्रम, सशस्त्रलिङ्ग लगायतका क्षेत्रको भण्डारीले दर्शन गर्नुभएको थियो । खप्तडपछि राष्ट्रपति भण्डारीले शैलेश्वरी मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले शैलेश्वरी क्षेत्रमा हालै निर्माण भएको खानेपानीको धाराको पनि उद्घाटन गर्नुभयो । समितिले आफ्नै लगानीबाट मुहान खरीद गरि धारा बनाएको हो ।

आफनै गाउँमा राष्ट्रपति आएको थाहा पाएपछि उहाँले हेर्न स्थानीय सर्वसाधारणको ठूलो घुँइचो लागेको थियो । स्थानीय टुँडिलेखबाट मन्दिर परिसरसम्म आउजाउ गर्दा स्थानीयवासीले भण्डारीको भव्य स्वागत गरेका थिए ।


