![]()
काठमाडौं । दुई दिन बितिसक्दा पनि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारा पक्राउ नपरेपछि निर्माण व्यवसायी आक्रोशित भएका छन ।
गौचनको हत्यासंगै व्यवसायीलाई एकपछि अर्को धम्की आउँदासमेत अपराधी पक्राउ गर्न नसकेको भन्दै व्यवसायी सरकारसंग रुष्ठ भएका छन । उनीहरुले गौचनका हत्यारा र अन्य व्यवसायीलाई धम्की दिने समूहलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरेका छन । सरकारलाई दबाबस्वरुप उनीहरुले बुधवार पनि काठमाडौंमा प्रदर्शन गरेका छन ।
महासंघमा आवद्ध पूर्वअध्यक्ष, पदाधिकारी, सदस्य तथा गौचनका आफन्तजनले बुधबार माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । र्यालीमा सहभागीहरुले गौचनलाई शहीद घोषणा गर्नुपर्ने, हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्नुपर्ने तथा निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिनुपर्नेलगायत माग राखेका छन् ।
गौचनको सोमबार दिउँसो ३ बजेतिर काठमाडौँ नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।


