![]()
जुम्ला । राष्ट्रपति बिद्या भण्डारी बुधवार दिनभरी जुम्लामा व्यस्त रहनुभयो । उहाँ स्थानीय एक बिद्यालयको नवनिर्मित भवन उद्घाटन गर्न बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्ला प्रस्थान गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारी जुम्ला पुगे लगत्तै त्यहाँको प्राकृतिक सौन्दर्य, बहुमुल्य जडिबुटी र संस्कृतिमा रमाउनुभयो । भौगलिक रुपमा निकै दुर्गम भएपनि जैविक विविधता र प्राकृतिक सौन्दर्यले जुम्ला भरिपूर्ण छ ।
राष्ट्रपति भण्डारीले जुम्ला खलंगामा रहेको चन्दननाथ नमुना माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला उद्घाटन गरिसकेपछि दुर्गम क्षेत्र कर्णालीका विद्यार्थीहरुले अब विज्ञान विषय पढ्न जिल्ला वाहिर जान नपर्ने भन्दै खुशी व्यक्त गर्नुभयो ।
बिद्यालयमा विज्ञान प्रयोगशाला अति आवश्यक भएपछि खलंगामा महायज्ञ संचालन गरि भवन निर्माणका लागि चन्दा संकलन गरिएको थियो । महायज्ञबाट संकलन भएको रकम र संसद विकास कोषको ४० लाख रुपैयाँमा विज्ञान प्रयोगशाला निर्माण गरिएको हो ।
त्यसक्रममा राष्ट्रपति भण्डारीले कर्णालीको बहुमुल्य जडिबुटी र सम्पदाको संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो । कर्णाली क्षेत्र साँस्कृतिक धरोहर भएको सम्पदाको संरक्षण गर्नु आवश्यकता भएको बताउँदै उहाँले पर्यटकीय क्षेत्रको पनि व्यापक प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले कर्णालीमा पाइने जडिबुटीको उच्च महत्व रहेकाले यहाँको जडिबुटी संरक्षण गरेर बजार व्यवस्थापनमा पनि ध्यान र्पुयाउन सके जुम्ला चाँडै समृद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।


