![]()
पर्सा । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कारपछि हत्या भएको छ । स्थानीय गेलुङ लामाको श्रीमती ५० बर्षिया सानी लक्ष्मी बम्जनको उनकै छिमेकी ३१ वर्षिय उमेश हजरा दुसादले जर्बजस्ती करणीपछि हत्या गरेका हुन । घटना गत बिहीबारको भएपछि प्रहरीले मंगलवार मात्रै सार्वजनिक गरेको हो ।
गत असोज १९ गते बिहिबार दिउँसो १ बजे तिर भकारी लिप्नका लागि माटो लिन घरबाट निस्किएकी बम्जनको शव उनको घरबाट ६ सय मिटर पर रहेको ऊखु बारीमा भेटिएको थियो । भकारी लिप्नका लागि दुई बोरा माटो ओसारि सकेर तेस्रो पटक माटो लिएर आउँदा उखुबारीमा बम्जनलाइ शौच गर्न गएका दुसादले भेटेका थिए । दुसादले यौन सम्बन्ध राख्न आग्रह गरेपछि बम्जनले अस्वीकार गर्दा दुसादले ढुङगाले टाउकोमा हिर्काएपछि उनी बेहोश भएकी थिइन् ।
बेहोश भएकै बेला दुसादले करणी गरिरहेकै अवस्थामा बम्जनको होस खुल्दा उनले हो हल्ला गर्न थालेपछि पोल खुल्ने डरले दुसादले , माटो खन्नका लागि बम्जनले लगेको कोदालो र खुर्पीले बम्जनको टाउको र घाँटीमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
बलात्कार र हत्यापछि घरमा लुकेर बसेका दुसादलाइ प्रहरीले घटनाको भोलिपल्ट शुक्रबार पक्राउ गरेको थियो । आरोपित दुसादले पनि आफुले बम्जनको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन ।


