![]()
एजेन्सी । बलिउड स्टार ऋतिक रोशन र कंगना रनावतबीचको लामो समयदेखि द्वन्द्वमा अर्का पात्रको प्रवेश भएको छ । उनी हुन ऋतिककै प्रिय मित्र फरहान ।
अभिनेत्री कंगनाले अभिनेता ऋतिकमाथि एकोहोरो रुपमा थुप्रै आरोप लगाउँदै आएकी थिइन । उनले ऋतिकमाथि विवाह गर्ने वाचा गरेर टाढा भागेको, इमेल ह्याक गरेको जस्ता गम्भीर आरोप लगाएकी छन । उनले ऋतिक विरुद्ध उजुरी पनि दिएकी छन् । कंगनाले ऋतिकको बारेमा ठूला ठूला खुलासा गर्दै बलिउडमा कोलाहल मच्चाएकी छन् ।
२ पटक राष्ट्रिय अवार्ड विजेता कंगनाको लडाइमा उनको बहिनी रंगोली पनि जमेर लागेकी छन् । कंगनाले एकोहोरो ऋतिकलाई आरोप लगाईरहँदा उनको साथमा ठूलो समर्थन जुटेको थियो । तर लामो समयपछि ऋतिकले आफ्नो र कंगनाको विवादबारे सार्वजनिक बयान दिएपछि ऋतिकका पनि समर्थन बढेका छन ।
ऋतिकको बयानपछि मिडिया र उनका शुभचिन्तकपनि ऋतिककै पक्षमा उभिएका छन् । ऋतिकले आफु र कंगनाबीच कुनै प्रेम सम्बन्ध नभएको र कंगनालाई आफूले एक्लै कहिल्यै नभेटेको बताएका छन् । ७ वर्षसम्म कंगनाले भनेको जस्तो सम्बन्ध भएको भए मिडियामा किन हल्ला भएन भन्दै यस्ता कुराले आफू र आफ्नो परिवारका सदस्यलाई ठूलो समस्या झेल्नुपरेको ऋतिकले बताएका छन् । ऋतिकको बयानपछि कंगनाको समर्थनमा उत्रिएकाहरू पनि ऋतिकको पक्षमा उभिन थालेका छन् ।
यसैबीचमा बलिउडका अभिनेता फरहान अख्तरले पनि ऋतिकको खुलेर समर्थन गरेका छन् । उनले कंगना र ऋतिकको नाममा खुलापत्र लेख्दै यस्ता कुरा कानुनी रुपमा सल्टाउनुपर्ने उल्लेख गरेका छन । फेसबुकमा फरहानले खुला पत्र लेख्दै मिडियाले कंगनाको कुरा मात्र सुनेर ऋतिकलाई पक्षपात गरेको आरोप लगाएका छन । उनले दुवै पक्षको कुरा सुनेर लेखेको भए राम्रो हुने भन्दै मिडियालाई सुझाव पनि दिएका छन ।
पत्रमा फरहानले समाजमा अन्याय वा दमनको सिकार हुने महिला नै हुन् भन्दै उनले पुरुषलाई पनि पछाडी पारिएको मुद्दा सार्वजनिक भएको टिप्पणी गरेका छन । ऋतिकले आफ्नो फोन र ल्यापटप सम्बन्धित अधिकारीलाई सुम्पिएपनि कंगनाले यसो नगरेको भन्दै उनले प्रश्न उठाएका छन ।
फिल्म निर्देशक करण जौहर, अभिनेत्री यामी गौतम, सोनम कपुर, ट्वींकल खन्ना लगायतका कलाकारले पनि फरहानको कुरामा समर्थन जनाएका छन ।


