![]()
काठमाडौं । नेकपा एमाले नेतृत्वको बाम गठवन्धन राष्ट्रिय शभाको निर्वाचनका लागि साझा धारणा बनाउने अभ्यासमा जुटेको छ । यसका लागि एमाले र माओवादी केन्द्रका शीर्ष नेता छलफलमा जुटिसकेका छन । दुवै दलबीच एक चरण मंगलवार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा छलफल भएको छ । बैठकमा राष्ट्रियसभा गठन र त्यसको प्रक्रियालाई कुन ढाँचामा अगाडि लैजाने भन्नेबारेमा छलफल भएको थियो ।
शीर्ष नेताले वरिष्ठ कानून व्यवसायी तथा पूर्व महान्यायाधिवक्तासँग समेत छलफल गरेका थिए । राष्ट्रियसभामा बहुमतीय निर्वाचन प्रणालीअनुसार जाने कि एकल संक्रमणीय मतका आधारमा जाने भन्ने विषयमा छलफल केन्द्रीत रहेको सांसद रामनारायण बिडारीले जानकारी दिनुभयो ।
राष्ट्रियसभाको चुनावसम्बन्धी संवैधानिक व्यवस्था र त्यसमा देखिएका असहजतालाई सहज बनाएर कसरी अघि बढ्ने भन्ने सम्बन्धमा पनि शीर्ष नेताले छलफल गरेका थिए । व्यवस्थापिका–संसद्ले प्रक्रियामा लैजान लागेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयक सोहीरूपमा अगाडि बढाउनुपर्ने धारणा सहभागीहरुले व्यक्त गरेका थिए ।
एमाले र माओवादी केन्द्रबीच बीच एकता प्रक्रिया अगाडि बढेपछि नेपाली काँग्रेसले एकल संक्रमणीय आधारमा नै राष्ट्रियसभा गठनको प्रक्रिया अगाडि बढाउने धारणा राखेको छ ।
राष्ट्रियसभामा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ । त्यसमा ५६ जना निर्वाचन प्रणालीबाट छानिनेछन् भने तीन जना मनोनीत हुनेछन् ।


