![]()
काठमाडौं । व्यवस्थापिका– संसद्को बैठकमा सांसदहरुले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति गम्भीर आपत्ति जनाउँदै हत्यामा संलग्नलाई कानूनको दायरामा ल्याउन माग गरेका छन ।
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले गौचनको हत्यासंगै अन्य व्यवसायीलाई पनि खुलेआम धम्की आउँदासमेत गृहमन्त्री कानमा तेल हालेर बसेको भन्दै आक्रोश व्यक्त गरे । उनले सुरक्षाको जिम्मा लिन नसक्ने हो भने तत्काल राजीनामा दिन गृहमन्त्रीलाई चेतावनी दिए । उनले निर्माण व्यवसायीको समेत सुरक्षा गर्न नसक्ने गृहमन्त्रीले प्रदेश र प्रतिनिधिसभाको पनि निर्वाचन गराउन नसक्ने दावी गरे ।
नेपाली काँग्रेसका अर्का सांसद दीपक गिरीले आगामी प्रदेश÷प्रतिनिधिसभाको निर्वाचको मुखमा गौचनको हत्या हुनुले निर्वाचन नहुने आशंका बढेको धारणा राखे । नेकपा एमालेका सांसद जनार्दन ढकाललले गौचनको हत्याको छानबिन गरी छिटो भन्दा छिटो हत्यारालाई कानूनी दायरामा ल्याउन माग गरे । नेकपा माओवादी केन्द्रका रामनारायण बिंडारीले दिउँसै गौचनको हत्या हुनुले शान्तिसुरक्षाको कमजोर अवस्था छताछुल्ल भएको धारणा राखे । नेपाल लोकतान्त्रिक फोरमका योगेन्द्र चौधरीले राजधानीमा खोजी/खोजी र छानी÷छानी मान्छे मार्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरे । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र सांसद रुक्मिणी चौधरीले गौचनका हत्याका बारेमा सदनमा जानकारी गराउन गृहमन्त्रीसँग माग गरे । सांसद रोमी गौचन थकाली र परशुराम तामाङले गौचनका हत्यापछि निर्माण व्यवसायीलाई पनि अज्ञात समूहले हत्याको धम्की दिएकामा सरकारको ध्यानाकर्षण गराए ।


