![]()
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री स्टारलाई क्षतिपूर्ति दिने निर्णय पारित गरेको छ । एन्फाले आफनो विधान संसोधन गर्दै थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
एन्फाका कारण थ्री स्टारले एएफसी कपको दोस्रो चरणको खेल खेल्न नपाएपछि यसअघि बसेको एन्फाको कार्यसमिति बैठकले क्षतिपूर्तिबापत १ करोड ५० लाख दिने निर्णय गरेको थियो ।
विश्व फुटबलको निकाय फिफा र एसियायी फुटबल महासंघ एएफसीका प्रतिनिधिको उपस्थितिमा बसेको साधारणसभाले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र विधान संसोधन समितिका संयोजक मणि कुँवरले पेस गरेको विधान संसोधन र क्षतिपूर्तिबारेको दुई मुख्य कार्यहरु पास गरेको हो ।
साधारणसभा बैठकले महिला समिति हटाउने निर्णयलाई उल्टाएर महिला समिति यथावत राख्ने र निर्वाचनको भोटिङ राइट दुईबाट ३ जना पुर्याउने निर्णय गरेको छ । संसोधित विधान अनुमोदन गरेसँगै अहिले भोटिङ राइट पाउदै गरेकाले ४५ जिल्ला, १४ ए डिभिजन, ५ बि र ३ सी डिभिजन क्लब र विभिन्न चार समितिहरुले निर्वाचनको बेला ३ जना पदाधिकारीहरु पठाउन सक्ने छन् ।
यही बिधान अन्तर्गत एन्फाले पुस ८ मा नयाँ कार्यसमितीको निर्वाचन गर्नेछ ।


