![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब मुलुक वामपन्थीको हातमा गएकाले समृद्धिको यात्रा पनि सुनिश्चित भएको बताउनु भएको छ । आफनै निवास लाजिम्पाटमा नेकपा मालेकी सांसद कल्सा महरालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले बामपन्थीहरुको एउटै शक्तिशाली पार्टी बनाएर अब मुलुकको नेतृत्व लिने दावी गर्नुभयो ।
अध्यक्ष प्रचण्डले निर्वाचन नजिकिदै जाँदा राजनीतिक ध्रुवीकरणले झन् तिब्रता लिएको र अन्ततः यसले मुलुकलाई फाइदा नै गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘वामपन्थी कम्युनिष्ट र प्रगतिशील शक्तिहरुको एउटै शक्तिशाली पार्टी बनाउने, देशको राजनीतिक नेतृत्व लिने र जनचाहना अनुसार सामाजिक र आर्थिक विकास गर्ने प्रक्रिया अघि बढेको छ । ’
राजनीतिक ध्रुवीकरण र एकता प्रक्रियाले मुलुकलाई स्थिरतातर्फ लैजाने उहाँको भनाइ छ । ’राष्ट्रिय पार्टी बन्नका लागि आवश्यक न्युनतम संख्या र्पुयाउनुपर्ने ऐनमा व्यवस्था गरिएको छ। त्यसले पनि ध्रुवीकरण बढाएको छ’ प्रचण्डले भन्नुभयो, ‘देशमा धेरै पार्टी हुनुभन्दा केही निश्चित पार्टी भएर जाँदा राजनीतिक स्थिरता र आर्थिक विकासका निम्ति वातावरण बन्छ भन्ने संविधानको आँकलन छ ।’
अहिले मुलुक माओवादीको एजेण्डामा अघि बढेको भन्दै उहाँले माओवादीको पक्षमा जनलहर देखिएको दावी गर्नुभयो । नेकपा माओवादी प्रवेश गरेकी सांसद कल्सा महराले आफू माओवादीमा आउनु समयको माग भएको धारणा राख्नुभयो ।


