Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

बिबिसि । भारतले ‘सर्जिकल स्ट्राइक’ वा परमाणु केन्द्रमाथि हमला गरे आफू चुप लागेर नबस्ने चेतावनी पाकिस्तानले दिएको छ । पाकिस्तानी विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफले वाशिङटनमा आयोजित एउटा कार्यक्रममा भारतले आक्रमण गरे पाकिस्तानबाट कुनै किसिमको धैर्यको अपेक्षा नगर्न चेतावनी दिएका हुन ।

भारतीय वायु सेनाका प्रमुख वीरेन्द्र सिंह धनोआले पाकिस्तानका परमाणुसहितका केन्द्रहरुलाई ध्वस्त पार्ने क्षमता भारतसँग रहेको बताएपछि पाकिस्तानी विदेशमन्त्रीले त्यसको जवाफ दिएका हुन् । अमेरिका भ्रमणका क्रममा विदेशमन्त्री ख्वाजाले आफ्ना अमेरिकी समकक्षी रेक्स टिलर्सन र राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर म्याकमास्टरसँग भेटवार्ता गरेका छन् । पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा पछिल्लो समय देखिएको तनाव अन्त्य गर्ने प्रयासमा ख्वाजाको भ्रमण केन्द्रीत रहेको बताइएको छ ।

गत अगष्टमा दक्षिण एसियासम्बन्धी आफ्नो नीतिबारे बोल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आतंकवादीहरुलाई आश्रय दिने काम पाकिस्तानले बन्द गर्नुपर्ने’ बताएका थिए । उनले त्यस विषयमा अमेरिका चुप लागेर नबस्ने चेतावनी समेत दिएका थिए । आतंकवादीहरुलाई आश्रय दिने काम पाकिस्तानले बन्द नगरे कडा कदम चाल्न सकिने ट्रम्पले बताएका थिए । ट्रम्पको त्यस्तो अभिव्यक्तिपछि दुई देशबीचको सम्बन्धमा तनाव बढेको थियो ।

पाकिस्तानी विदेशमन्त्री ख्वाजाले सन् २०१४ पछि पाकिस्तानले आतंक मच्चाउने समूहलाई ध्वस्त पारिदिएको बताए । उनले अमेरिकासँग मिलेर पाकिस्तानले आतंकवादविरुद्धको लडाइँ जारी राख्न चाहेको उल्लेख गरे । परमाणु शक्ति सम्पन्न दुई छिमेकी मुलुक भारत र पाकिस्तानबीच आतंकवादी संगठनलाई लिएर आरोप –प्रत्यारोप चल्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed