![]()
काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठक शनिवार काठमाडौमा सुरु भएको छ । काठमाडौको एक होटलमा जारी बैठकमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा तथा सदस्यहरू डा. राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय सहभागी हुनुहुन्छ । यस्तै भारतबाट संयोजक भगतसिंह कोसियारी सदस्यहरू डा. बिसी उप्रेती र महेन्द्र पी लामा सहभागी हुनुहुन्छ । स्वास्थ्य समस्याका कारण भारततर्फका सदस्य पूर्वराजदूत जयन्तप्रसाद भने अनुपस्थित हुनुहुन्छ ।
बैठकमा नेपाल भारतबीच भएका विभिन्न सन्धि सम्झौताहरुको समयानुकुल परिमार्जनबारे छलफल भैरहेको छ । १९५० को मैत्री सन्धि,व्यापार तथा पारवहन सन्धि र जलस्रोतसम्बन्धी विभिन्न सन्धि–सम्झौतामा छलफल गरि दुवै देशको सरकारलाई सुझाब दिनेगरी नेपाल–भारत प्रबुद्ध समूह गठन गरिएको हो ।
नेपालले १९५० को मैत्री सन्धिमा परिमार्जन गर्नुपर्ने बिषयलाई अन्तिम रुप दिने गरि तयारी गरेको छ भने भारत पक्षले दुई देशको सीमा सुरक्षा र व्यवस्थापनबारे छलफलको एजेन्डा बनाएको छ ।


