![]()
इलाम । नेकपा एमालेले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वप्रधानमन्त्री एवम पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई इलाम क्षेत्र नम्बर १ बाट चयन गरेको छ । एमाले जिल्ला कमिटीले खनाललाई क्षेत्र नम्बर १ बाट उम्मेदवार छानेको हो ।
‘खनाल राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति भएकाले बैठकले सर्वसम्मत रूपमा उहाँको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको छ,’ एमाले जिल्ला सचिवालयले जनाएको छ ।
खनालसंगै पूर्वसभामुख सुवास नेम्वाङ पनि इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार चयन हुनु भएको छ ।

खनाल र नेम्बाङ दुवैको गृहजिल्ला इलाम हो । पूर्वप्रधानमन्त्री खनाल अहिले इलाम क्षेत्र –१ कै सांसद् हुनुहुन्छ भने नेम्बाङ क्षेत्र २ को सांसद हुनुहुन्छ । खनालले अहिलेसम्म यो क्षेत्रबाट ४ पटक चुनाव जित्नु भएको छ । उहाँ एकपटक भने पराजित हुनुभएको छ ।
खनालले २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा त्यही क्षेत्रबाट कांग्रेस जिल्ला सभापति हिमालय कर्माचार्यलाई र २०६४ मा कांग्रेसकै बेनुपराज प्रसाईंलाई पराजित गर्नुभएको थियो । खनाल ०५६ को निर्वाचनमा चाहिँ प्रसाईंसँग पराजित हुनुभयो । इलाममा २ वटा मात्रै निर्वाचन क्षेत्र रहेका बेला २०५१ र ०४८ सालका दुवै निर्वाचनमा खनालले कांग्रेसका तोयानाथ भट्टराईलाई इलाम क्षेत्र नम्बर १ बाट पराजित गर्नुभएको थियो ।
पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ पनि त्यही क्षेत्रबाट लगातार ३ पटक चुनाव जित्ने नेता हुनुहुन्छ ।


