![]()
बिबिसि । आफ्ना कूटनीतिज्ञलाई सुरक्षा दिन नसकेको भन्दै अमेरिकाले क्युबाका १५ जना कूटनीतिज्ञलाई सात दिनभित्र देश छाड्न आदेश दिएको छ । हवानास्थित आफ्नो दूतावासका कर्मचारीलाई रहस्यमय आक्रमणबाट जोगाउन नसकेको वाशिङटनको आरोप छ ।
हवानास्थित आफ्नो दूतावासका आधाभन्दा बढी कर्मचारीलाई फिर्ता बोलाएको वाशिङटनले पछिल्लो पटक यो कदम चालेको हो । विज्ञप्ति जारी गर्दै विदेशमन्त्री रेक्स टिलर्सनले भनेका छन, “भिएना महासन्धि अनुसार हाम्रा कूटनीतिहरुलाई सुरक्षा दिने दायित्व पूरा गर्न क्युबा असफल भएकोले यो निर्णय लिइएको हो ।“
क्युबा सरकारले आफ्ना कूटनीतिज्ञलाई देश निकाला गर्ने अमेरिकी निर्णयको निन्दा गरेको छ । क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले ’औचित्य पुष्टि गर्न नसकिने’ कदम भन्दै स्वीकार्य गर्ने खालको नभएको बताए । रहस्यमय ध्वनि आक्रमणबाट आफ्नो दूतावासका कम्तीमा २१ जना कर्मचारी बिरामी भएको अमेरिकाले जनाएको छ । आक्रमणमा परेका कूटनीतिज्ञहरुमा होश गुम्ने, चक्कर आउने र कम सुन्ने लगायतका समस्या देखिने गरेको अधिकारीहरुले बताएका छन् ।
यसअघि होटलहरुमा समेत आक्रमण गरिएको भन्दै वाशिङटनले आफ्ना नागरिकलाई क्युबाको भ्रमण नगर्न सुझाव दिएको थियो । क्यानाडाका पनि दुईजना नागरिक त्यस्तो प्रकृतिको आक्रमणमा परेका थिए ।
अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइ र क्यानाडाको प्रहरीले एउटा अनुसन्धान गरेपनि सन् २०१६ को अन्त्ययता गरिएका आक्रमणहरुको कारणबारे अहिलेसम्म थाहा हुन सकेको छैन ।
अमेरिकाले हवानास्थित आफ्नो दूतावासबाट गरिने भिसासम्बन्धी सबै कामहरु पनि यसअघि नै अनिश्चितकालका लागि स्थगित गरिसकेको छ ।


