Breaking News.... EverestOnlineKhabar
June 19, 2026

सन् २०३० सम्ममा हैजाबाट मृत्यु हुनेको संख्या ९० प्रतिशत कम गर्न फ्रान्समा छलफल

Loading

बिबिसि । सन् २०३० सम्ममा हैजाबाट मृत्यु हुनेको संख्या ९० प्रतिशत कम गर्ने प्रतिबद्धता जनाउन विश्वभरका स्वास्थ्य नेताहरुको बैठक फ्रान्समा बसिरहेको छ ।

सरकार, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्तर्राष्ट्रिय सहायता संस्थाहरुबाट यस्तो खालको प्रतिबद्धता सार्वजनिक हुन लागेको यो पहिलो पटक हो । पछिल्लो समय हैजाको निकै डरलाग्दो महामारीको शिकार यमन भएको छ । युद्धका कारण सरसफाईको अवस्था बिग्रिंदा र खानेपानी वितरण प्रणाली अवरुद्ध हुँदा त्यहाँ हैजाको महामारी फैलिरहेको छ ।

यमनमा ७ लाख ७० हजारभन्दा बढी मानिस हैजाबाट संक्रमित भएका छन् भने २ हजार जनाको मृत्यु भइसकेको छ । फोहोर पानीबाट फैलिने हैजा रोगबाट विश्वभर बर्षेनी करिब एक लाख मानिसले ज्यान गुमाउने गरेका छन् । तीमध्ये अधिकांश अफ्रिका र एसिया महादेशका हुन्छन् ।

पुनर्जलीय झोल दिएर हैजा लागेको बिरामीको उपचार गर्न सकिन्छ र स्वच्छ पानी एवं सफा शौचालयको प्रयोगले हैजा लाग्नबाट जोगिन सकिने विज्ञहरु बताउँछन् । उनीहरु भन्छन, ‘खासगरी द्वन्द्व र प्राकृतिक विपद्का बेला हैजाको सामना गर्न त्यसको औषधि यथाशीघ्र उपलब्ध गराउनुपर्छ ।’

डब्ल्यूएचओका अनुसार विश्वभर २ अर्ब मानिसको स्वच्छ पानीमा पहुँच छैनन र उनीहरु सम्भवतः हैजाबाट संक्रमित हुने जोखिममा छन् ।
हैजासम्बन्धी डब्ल्यूएचओको कार्यक्रमका प्रमुख डोमिनिक लेग्रोले भने, “हामीले हरेक वर्ष व्यापक रुपमा हैजा फैलिएको हेरेर बस्न सक्दैनौँ । हामीसँग त्यसलाई रोक्ने उपाय छ र त्यसको प्रयोग गर्नुपर्छ ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed