![]()
डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट नेपाली काँग्रेसले केन्द्रीय समितिलाई दुइवटा सिफारिस गरेका छन् । देउवा निकटकै दुई गुटले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका हुन् । प्रदेशसभाका लागि दुवै गुटबाट करिब दर्जनभन्दा बढी नेतालाई गुटका आधारमा सिफारिस भए पनि प्रतिनिधिसभाका लागि भने दुवै गुटले प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नाम मात्र सिफारिस गरेको जनाएका छन् ।
दुवै गुटका छुट्टाछुट्टै बसेका बैठकले उम्मेदवारको नाम पनि छुट्टै सिफारिस गरेको हो । डडेल्धुरा नेपाली काँग्रेसका पूर्व सभापति रघुवर भट्ट र वर्तमान सभापति कर्ण मल्ल प्यानलका नेताले प्रदेशसभाका लागि खुला र सामानुपातिकतर्फ छुटृाछुट्टै सिफारिस गरेका हुन् ।
यसमा रघुवर भट्ट प्यानलले प्रतिनिधिसभाका लागि प्रधानमन्त्री देउवालाई सिफारिस गरेका छन् भने सामानुपातिकतर्फ महाअधिवेशन प्रतिनिधि डा आरजु राणा देउवा, सांसद नरभान कामी र महाअधिवेशन प्रतिनिधि तथा नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरलाई सिफारिस गरेका छन् । नेपाली काँग्रेस जिल्ला सभापति कर्ण मल्ल गुटले प्रत्यक्षबाट देउवालाई नै सिफारिस गरेका छन् र सामानुपातिकमा नारु ओझा, पदम विष्ट र भरत नेपालीलाई सिफारिस गरेका छन् ।
प्रदेशसभाका लागि क्षेत्र नं १ का लागि रघु गुटले रघुवर भट्ट, नैनसिंह महर, कैलाशकुमार पाण्डेय, हेमराज चटौत र वीरेन्द्रबहादुर थापालाई सिफारिस गरेका छन् भने कर्ण गुटले गोपा थापा, रवीन्द्र खड्का, हिक्मतसिंह ठाकुरलाई सिफारिस गरेको जनाएका छन् ।
क्षेत्र नं २ का लागि रघु गुटले खुलातिर गोविन्दराज बोहरा, शेरबहादुर भण्डारी, हरिप्रसाद भट्ट, मोहनराज पाठक, भानबहादुर देउवा र भोजराज भट्टलाई सिफारिस गरेका छन् भने कर्णगुटले कर्णबहादुर मल्ल, करुणाकर भट्ट, तारक बुढाऐरलाई सिफारिस गरेका छन् । समानुपातिक उम्मेदवारका लागि भने भट्ट गुटबाट २२ जना र मल्ल गुटबाट ३० जना नेतालाई सिफारिस गरेका छन् ।


