![]()
बिबिसि । अमेरिकी प्रहरीले लास भेगसमा बन्दुकधारीले आक्रमण गर्नुको उद्देश्य पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ । आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब भनिएको उक्त गोलीकाण्डमा कम्तीमा ५९ जना मारिएका छन् भने ५२७ जना घाइते भएका छन् ।
६४ वर्षीय हमलाकारी स्टिभन प्याडक बसेको होटलको कोठाबाट २३ वटा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेभाडा राज्यस्थित प्याडकको घरबाट पनि हातहतियार र गोलीगट्ठा बरामद गरिएको छ । तर, प्याडकलले आक्रमण गर्नुको उद्देश्यबारे अहिलेसम्म थाहा हुन नसकेको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार बन्दुकधारी र अन्तर्राष्ट्रिय लडाकु समूहबीच कुनै सम्बन्ध रहेको देखिएको छैन । आक्रमणकारी विगतमा कुनै आपराधिक क्रियाकलापमा पनि उनी संलग्न नरहेको अधिकारीहरुले बताएका छन् ।
केही छानबिनकर्ताहरुले प्याडकको मानसिक अवस्था बिग्रेको हुनसक्ने आशंका गरेका छन । बन्दुकधारीबारे पहिलेदेखि कुनै जानकारी नभएको प्रहरीले जनाएको छ ।
घटनापछि राष्ट्रपति डोनल्ड ट्रम्पले एकता र शान्तिका लागि अपील गर्दै उक्त गोलीकाण्डलाई ‘दुष्टताले भरिपूर्ण क्रियाकलाप’ भनेका छन् । लास भेगसकी मेयर क्यारोलिन गुडम्यानले अक्टोबर १ तारखलाई अहिलेसम्मकै सबैभन्दा कालो दिन भनेकी छन् ।
प्याडकले लास भेगसस्थित एउटा होटलको ३२ औं तल्लाको कोठाबाट त्यहाँदेखि नजिकै आयोजित एक सांगीतिक कार्यक्रम हेर्न भेला भएका भीडमाथि गोली चलाएका थिए ।


