![]()
बिबिसि । प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले म्यानमारकी नेतृ आङ सान सू चीले मानार्थ ’डिग्री’ पाएको कलेजबाट उनको तस्वीर हटाइदिएको छ । रोहिंज्या संकटलाई लिएर सू चीको व्यापक आलोचना भइरहेका बेला उनको तस्वीर हटाइएको हो ।
म्यानमारमा जारी हिंसाका कारण चार लाखभन्दा बढी अल्पसंख्यक रोहिंज्या मुस्लिमहरु भागेर छिमेकी मुलुक बांग्लादेश पुगेका छन् । सेन्ट ह्युज कलेजले नेतृ सू चीको तस्वीर हटाएर उक्त स्थानमा एउटा जापानी ‘पेन्टिङ’ राखिएको जनाएको छ ।
सू चीको तस्वीर हटाइएको स्थानमा राखिएको ‘पेन्टिङ’ जापानी कलाकार योशिहिरो ताकादाले बनाएका हुन् । कलेजबाट सू चीको तस्वीर हटाउनुको कारणबारे केही खुलाइएको छैन ।
सो कलेजका सञ्चार प्रबन्धक बेन्जामिन जोन्सले सू चीको तस्वीर हटाएर ‘सुरक्षित स्थान’ मा राखिएको र ’केही समयावधिका लागि’ उक्त स्थानमा योशिहिरोको ’पेन्टिङ’ रहने बताए ।
यसै महिनाको शुरुतिर सेन्ट ह्युज कलेजले उपहारस्वरुप उक्त ’पेन्टिङ’ पाएको थियो र कलेजको मुख्य भवनमा त्यसलाई राखिएको छ ।
सन् २०१५ को आमनिर्वाचनमा बहुमत ल्याएर सरकार गठन गरेकी नेतृ सू चीले रोहिंज्या संकट समाधानका लागि केही नगरेको भन्दै अन्तर्राष्ट्रिय दबाब झेलिरहेकी छन् ।
कतिपयले उनलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज उठाउँदै आएका छन् । गत हप्ता एउटा सम्बोधनका क्रममा उनले मानवअधिकार उल्लंघनको निन्दा गरे पनि देशको सेनामाथि उनले कुनै आरोप लगाइनन् र ’जातीय सफाया’ भइरहेको आरोपबारे पनि केही बोलिनन् ।
सन् २०१२ को जुन महिनामा सेन्ट ह्युज कलेजले उनलाई मानार्थ ’डिग्री’ प्रदान गरेको थियो । यद्यपि सू चीलाई दिइएको मानार्थ ’डिग्री’ फिर्ता लिने सोच नबनाएको उक्त कलेजले जनाएको छ । सन् १८८६ मा स्थापित सेन्ट ह्युज कलेज अक्सफोर्ड विश्वविद्यालयका ठूला मध्येको एक हो ।


