Breaking News.... EverestOnlineKhabar
August 22, 2026

Loading

बिबिसि । सरकारी कामको सिलसिलामा महंगा निजी विमानहरुबाट यात्रा गरेकोमा व्यापक आलोचना भएपछि अमेरिकी स्वास्थ्यमन्त्री टम प्राइसले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले उनको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै ह्वाइट हाउसले डन जे राइटलाई कार्यवाहक स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको जनाएको छ । ट्रम्पले प्राइसबाट आफू ’निराश बनेको’ प्रतिक्रिया दिएका छन् ।

विद्यमान नीतिहरुमा जोड दिंदै ह्वाइट हाउसका बजेट प्रमुखले उच्च अधिकारीहरुलाई समेत सरकारी कामको सिलसिलामा व्यापारिक विमानहरुबाट यात्रा गर्ने विकल्प एकदम थोरै भएको सन्देशसहित कर्मचारीहरुलाई पत्र पठाएका छन् ।

कामको सिलसिलामा महंगो यात्रा गरेको भन्दै ट्रम्पको मन्त्रिपरिषद्का अरु तीनजना सदस्य पनि निगरानीमा छन् । ट्रम्प प्रशासनबाट राजीनामा दिने वा बर्खास्त हुनेहरुको लम्बिंदो सूचीमा प्राइस थपिएका छन् ।

गत मे महिनायता २६ वटा निजी उडान गरेर राज्यकोषको ४ चार लाख डलर खर्च गरेकोमा प्राइसले क्षमायाचना गरेका थिए ।
न्यूयोर्क टाइम्स पत्रिकाका अनुसार प्राइसले पठाएको राजीनामापत्रमा उनले ’पछिल्ला गतिविधिले मन्त्रालयको कामबाट ध्यान अन्यत्र मोडेकोमा’ आफूलाई पछुतो लागेको बताएका छन् ।

राजनीतिक समाचारहरु छाप्ने ’पोलिटिको’ वेबसाइटका अनुसार प्राइसले यात्रामा मात्रै १० लाख डलरभन्दा बढी सरकारी रकम खर्च गरेका छन । जसमध्ये सेनाको साथै निजी विमानबाट गरेको यात्रामा ४ लाखभन्दा बढी डलर खर्च भएको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले सरकारी कामको सिलसिलामा प्राइसबाट यात्राका लागि गरिएका खर्चबाट आफू ’खुशी नभएको’ बताएका थिए ।
स्वास्थ्यमन्त्रीले राजीनामा दिनुअघि ट्रम्पले उनी एकदमै असल मान्छे भएको पत्रकारहरुलाई बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.