![]()
बिबिसि । इन्डोनेसियाको बालीस्थित माउन्ट आगुङमा ज्वालामुखी विस्फोट सम्भावना बढेपछि आसपासका वासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको छ । माउन्ट आगुङमा सयौं कम्पन मापन गरिएपछि पृथ्वीको गर्भबाट म्याग्मा बाहिरी सतहमा आउन माथि सरिरहेको संकेत मिलेपछि सो क्षेत्रमा ज्वालमुखीको सम्भावना देखिएको हो ।
सोमबार मात्र ५६० भन्दा बढी कम्पन मापन गरिएको थियो । यो कहिले विस्फोट हुन्छ अनुमान गर्न नसकेकाले झनै तनाव उत्पन्न भएको छ । बिबिसीका अनुसार माउन्ट आगुङ वरपर बस्ने करिब ७५ हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ । अन्यलाई कम्तीमा १२ किलोमिटर टाढा बस्न आग्रह गरिएको छ ।
माउन्ट आगुङमा ज्वालामुखी विस्फोट हुने संकेतलाई बालीका बासिन्दा ‘ईश्वर रिसाएको’ अर्थमा लिने गर्दछन । यो टापुसँग यहाँका बासिन्दाको धार्मिक आस्था जोडिएको छ । केही धर्मगुरूले त पर्यटकले बालीको रीतिरिवाज र चलनमा अतिक्रमण गरेकाले यस्तो भएको आरोप लगाइरहेका छन् । संकट टरोस् भनेर बालीका मन्दिरमा पूजाआजा र भाकल सुरू भएको छ ।
माउन्ट आगुङमा सन् १९६३ मा ज्वालामुखी आउँदा एक हजारभन्दा बढीको ज्यान गएको थियो । त्यसबेला मान्छेले भाग्न केही मिनेट मात्र समय पाएका थिए ।
यो इन्डोनेसियाका १३० सक्रिय ज्वालामुखीमध्ये एक हो । बेलायत, अस्ट्रेलिया र सिंगापुरले आफ्ना नागरिकलाई बालीबारे सुझाव पत्र जारी गरिसकेका छन् ।


