![]()
बिबिसि । चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडा पार्दै उक्त मुलुकबाट आफूले गर्ने कपडाको आयात बन्द गर्ने घोषणा गरेको छ । चीनले उत्तर कोरियालाई बेच्दै आएको इन्धनको आपूर्ति पनि क्रमशः बन्द गर्दै जाने भएको छ ।
११ दिनअघि संयुक्त राष्ट्रसंघले पारित गरेको नयाँ प्रतिबन्ध अनुसार पछिल्लो चिनियाँ घोषणा आएको हो । बेइजिङ्ले दुई मुलुकबीचको सीमाबाट अवैध रुपमा कपडाहरुको चोरी निकासी नहोस् भनेर सुनिश्चित गर्नुपर्नेछ । उत्तर कोरियाको आम्दानीको दोस्रो प्रमुख आधार कपडाको विक्री हो । प्रतिबन्धपछि प्योङ्याङ्ले वार्षिक ७० करोड डलर गुमाउने बताइएको छ । इन्धनमाथिको प्रतिबन्ध भने अक्टोबर १ बाट शुरु हुने बताइएको छ । प्राकृतिक ग्यासमाथिको प्रतिबन्ध भने तत्काल लागू हुनेछ ।
चीनबाट उत्तर कोरियाले दैनिक ६ हजार ब्यारेल इन्धन आयात गर्ने गरेको अनुमान गरिएको छ । एक ब्यारेलमा करिब १५९ लिटर हुन्छ । तर सन् २०१४ यता चीनले आफ्नो इन्धन निर्यातबारे विवरण प्रकाशन गरेको छैन ।


