![]()
एजेन्सी । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङसँगको खेलका लागि भारतमा अभ्यास गर्न गएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । भारतको चेन्नईमा तयारी गरिरहेको नेपालले भारतको डिन्डिगुल ड्रयागन्सलाई १५३ रनले पराजित गरेको हो ।
चेन्नईको एसआरएम युनिभर्सिटीको खेलमैदानमा सम्पन्न खेलमा नेपालले डिन्डिगुल ड्रयागन्समाथि फराकिलो जित हात पारेको हो । २१७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको डिन्डिगुल ड्रयागन्सले ३५.३ ओभरमा अलआउट हुँदै ६३ रनमात्रै बनाउन सक्यो । डिन्डिगुल ड्रयागन्सका कुनै पनि खेलाडीले नेपाली बलरसामु खुलेर खेल्न सकेनन् । डिन्डिगुल ड्रयागन्सका लागि एमडी आसिफ याले २४ र रथनम अभरले १५ रन बनाए ।
नेपालका लागि सागर पुनले ३, सोमपाल कामी र सन्दिप लामिछानेले समान २–२ विकेट लिए । त्यस्तै राष्ट्रिय टोलीमा पहिलो पटक परेका सुशील कँडेल र ललित भण्डारीले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २१६ रन बनाएको थियो । सोमपालले ६६ र बसन्तले नटआउट ५६ रन बनाएका थिए । त्यस्तै, नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३९, आरिफ शेखले २१ र सागर पुनले १५ रन बनाए । कप्तान पारस खड्का शून्य रनमा आउट भए । त्यस्तै, शरद भेषवाकर र विनोद भण्डारी भने समान १–१ रनमा आउट भए ।
नेपालले अक्टोबर १३ देखि १५ सम्म हङकङको घरेलु भूमिमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ । अन्तिम ४ मा प्रवेश गर्नका लागि नेपाललाई हङकङसँगको दुवै खेल जित्नैपर्ने हुन्छ ।


