![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औं महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री देउवा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जानु भएको हो ।
देउवालाई उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, सभामुख ओनसरी घर्तीलगायत सरकारका मन्त्रीहरुले विमानस्थलमा बिदाई गर्नुभयो । देउवा इत्तिहाद एयरको उडान नम्बर २९१ बाट अमेरिका लाग्नुभएको हो ।
प्रधानमन्त्री देउवाले सेप्टेम्बर २३ अर्थात आगामी शनिवार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । नेपालको राजनीतिक अवस्था र संविधान कार्यान्वयनसहित बिश्व शान्तिबारे देउवाले कुरा राख्ने परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।
अमेरिका रहँदा प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टनियो गुटरेजसंग पनि भेटवार्ता गर्नुहुनेछ । यस्तै, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायतका मुलुकका सरकार प्रमुखसंग पनि भेटवार्ताको कार्यक्रम छ ।
भ्रमण टोलीमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्क्स्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत उच्च सरकारी अधिकारी सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री देउवा नेतृत्वको टोली सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम छ ।


