![]()
काठमाडौं । शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले भ्रष्टाचारको आरोप लागेका केही व्यक्तिको नाम किटेरै कारवाहीको माग गरेका छन । सरकारी पदमा बसेर आर्थिक अनियमितता गर्ने साझा प्रकाशनका अध्यक्ष डोलेन्द्र प्रसाद शर्मा, नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्का र काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन राजेन्द्र कोजुलाई तत्काल छानविन गरि कारवाही गर्न माग गर्दै उनले अनशनको मिति पनि घोषणा गरेका हुन ।
डाक्टर केसीले असोज २० गतेसम्म सरकारले माग पूरा नगरे फेरि सत्याग्रह सुरु गर्ने बताएका छन् । मेडिकल शिक्षा लगायत देशको विविध क्षेत्रमा भएका भ्रष्टाचारका कारण देश संकटमा परेकाले अन्तिम लडाई लड्न तयार रहेको उनले बताए ।
यस्ता छन् डाक्टर केसीका माग
१) माथेमा प्रतिवेदन तथा हाम्रा सुझावअनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।
२) बर्खास्त गरिएका आयल निगमका प्रमुखमाथि छानविन गरेर उनले हिनामिना गरेको अर्बौं रुपैयाँ असुलउपर गर्दै कारवाही गरियोस् । सोही भ्रष्टाचार काण्डमा उनीसित मिलेर भ्रष्टाचार गर्ने सबै तहका अन्य सबै व्यक्तिहरुमाथि छानविन र कारवाही गरियोस् । भ्रष्टाचार पुष्टि भएर पनि अहिलेसम्म कारवाही नगरिएका साझा प्रकाशनका प्रमुख डोलेन्द्र शर्मालगायतका व्यक्तिहरुलाई तत्काल पदच्युत गरेर छानविन तथा कारवाही गरियोस् ।
३) मेडिकल माफियासितको मिलेमतोमा एमबीबीएसका लागि सरकारले तोकेको भन्दा दशौं लाख बढी शुल्क अवैध रुपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गरी सरकारले तोकबमोजिम एमबीबीएसका लागि रु ३८,५०,००० (काठमाडौं उपत्यकाभित्र), रु ४२,४५,०००(उपत्यकाबाहिर) तथा बीडीएसका लागि रु १९,३२,६१२ कायम गरियोस् । माफियासित मिलेमतो गरेर अरबौंको चलखेल गर्ने डिन राजेन्द्र कोजुलाई तत्काल बर्खास्त गरियोस् । त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा स्नातकोत्तरको शुल्क रु २२,५०,००० कायम गरियोस । अनियमिततापूर्वक धेरै शुल्क तोक्ने तथा खाली भवनलाई एमबीबीएसको सम्बन्धन दिने त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरेर कारवाही गरियोस् । आइओएमबाट त्रिविले खोसेर लगेका अधिकारहरु तत्काल फिर्ता गरियोस् ।
४) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन–अध्यापन शुरु गर्ने गरी बजेट तथा अन्य व्यवस्था गरियोस् । कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–तेह्रथुम आदि ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।


