![]()
एजेन्सी । भारतले अष्ट्रेलियाबिरुद्धको पहिलो एक दिवसिय क्रिकेटमा जित हासिल गर्दै पाँच म्याचको शृखंलामा सुखद सुरुवात गरेको छ । अलराउण्डर हार्दिक पाण्ड्याको उत्कृष्ट प्रदर्शनीले भारतले पाहुना टोली अष्ट्रेलियामाथि २६ रनको जित दर्ता गरेको हो । जितसँगै भारतले पाँच एक दिवसीय श्रृखलामा एक शून्यको अग्रता कायम गरेको छ ।
वर्षाले पटक–पटक अवरुद्ध भएको खेलमा डकवर्थ लुइस नियम अनुसार अष्ट्रेलियाले २१ ओभरमा १६४ रनको लक्ष्य पाएको थियो । तर, अष्ट्रेलियाले १३७ रनमात्र जोड्न सक्यो । अष्ट्रेलियाका लागि तीन व्याट्सम्यान बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।
अष्ट्रेलियाको इनिङमा ग्लेन म्याक्सवेलले सर्वाधिक ३९ रन जोडे । ओपनर डेविड वार्नरले २९ रन बनाए । अष्ट्रेलियाको पारी ध्वस्त बनाउन भारतका युजवेन्द्र चाहलले तीन तथा कुलदीप यादव र हार्दिक पाण्ड्याले २–२ विकेट लिए ।
यसअघि चेन्नाईमा पहिले व्याटिङ गरेको भारतले खराब सुरुवात गरेको थियो । प्रारम्भिक व्याट्सम्यान सस्तोमै गुमाएको भारतलाई हार्दिक पाण्ड्या र महेन्द्रसिंह धोनीले सम्मानजनक स्कोरमा पुर्याएका थिए । पाण्ड्यको ८३ र धोनीको ७९ रनको मदतले भारतले २८१ रन जोडेको थियो ।


