Breaking News.... EverestOnlineKhabar
June 6, 2026

प्रदेश नम्बर २ मा निर्वाचनको सबै तयारी पूरा, पाँच दिनभित्र सबै नतिजा

Loading

काठमाडौं । निर्वाचन आयोगले अशोज २ गते प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । निर्वाचन सामग्री, मतदान केन्द्र, मतदान स्थल, सुरक्षा लगायतका सबै विषयमा तयारी पूरा भएको आयोगले स्पष्ट पारेको छ ।

आयोगले मतगणना छिटो गर्न मतगणना समूहहरु थपिएकाले प्रदेश नम्बर २ को चुनावी नतिजा पाँच दिनभित्रै आउने समेत जनाएको छ । सोमवार हुने मतदानका लागि प्रदेश नम्बर २ का ३,५०० भन्दा बढी मतदान केन्द्रबाट आइतवारसम्म मतदाता परिचयपत्र बाँडिने आयोगका अधिकारीले बताएका छन ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा भौगोलिक र प्राविधिक कारणवश केही समस्या देखिएपनि यसपटक सहजतापूर्वक मतदाता परिचयपत्र वितरण गर्ने गरी कर्मचारीहरु खटिएको आयोगले जनाएको छ ।
१ महानगरपालिका, ३ उपहानगरपालिका र ७३ नगरपालिका रहेको प्रदेश नम्बर २ मा मतगणना नै प्रमुख चुनौती रहेको आयोगको बुझाई छ ।
शुक्रवारदेखि शुरु भएको मतदाता परिचयपत्र वितरणको कार्यक्रम तीन दिनसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने छ । टाढा जानुपर्ने ठाउँमा पहिलेदेखि नै मान्छे खटाएर शुक्रवार पुग्ने व्यवस्था मिलाइएको छ । प्रदेश नम्बर २ का १३६ स्थानीय तहका झण्डै साढे २६ लाख मतदातालाई ३५ सयभन्दा बढी मतदान केन्द्रबाट मतदाता परिचयपत्र बाँड्नका लागि आवश्यक जनशक्ति र बन्दोबस्तीका सामग्री व्यवस्था गरिएको छ ।

मतदाता परिचयपत्र वितरणसँगै बदर मतको संख्या घटाउन मतदाता शिक्षालाई सँगसँगै प्रभावकारी ढंगले अगाडि बढाइएको आयोगले जनाएको छ । आयोगका अनुसार विदेश गएका वा अन्य कारणले परिचयपत्र लिन नसक्नेले परिवारका अन्य सदस्यको सहयोगमा मतदान गर्ने दिनमा समेत परिचयपत्र लिन सक्नेछन् ।

२ नम्बर प्रदेशमा १३६ प्रमुख र उपप्रमुख, १,२७१ वडाध्यक्ष, सोही संख्यामा महिला, दलित सदस्य गरी ६,६०० भन्दा बढी जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed