![]()
बिबिसि । म्यान्मारमा केही रोहिंज्या परिवारले महिलाहरुको बलात्कारपछि हत्या गरिएको आरोप लगाएका छन् । बांग्लादेशका डाक्टरहरुले त्यस्तो समस्यामा परेका महिलाहरु लाजका कारण उपचारमा नआएको बताएका छन् ।
हजीरा बेगम दक्षिण पूर्वी बांग्लादेशको उकिया आइपुगेको तीन दिन भयो । उनले भनिन,‘ म्यानमारको सेनाले घर घेरेको थियो । त्यसबेला भाग्न सकेका बाँचे, जो त्यहीँ रहे उनीहरुको हत्या भयो या मलाई जस्तै यौन दुव्र्यवहार भयो । ’
उनले भनिन, ‘म त बलात्कृत भएपनि बाँच्न सकेँ तर त्यहाँ कैयौँ त्यस्ता केटीहरुको बलात्कारपछि हत्या गरिएको छ । ’ उनले सेनासँग उपचार मागेको तर सहयोग नपाएको बताइन । ‘म जस्ता कैयौँ महिलाले खासमा गर्भवती हुनबाट बच्न सेनासँग औषधि माग्यौँ, तर उनीहरुले दिएनन । ’
अगष्ट २५ पछि बांग्लादेश आइपुगेका रोहिंज्या शरणार्थीमा कैयौँ महिला र बालबालिका छन् । रोहिंज्या पुरुषहरुको हत्या गर्ने गरिएको र महिलाहरुलाई यौन दुव्र्यवहारको निशाना बनाउने गरिएको उनले बताइन् । रेहाना बेगम आफ्नो नाबालक छोरा लिएर सीमा पार पुगेकी हुन । उनले आफ्नी १५ वर्षीय छोरी फेला पार्न सकेकी छैनन् । उनले भनिन, ‘मेरी छोरीलाई सेनाले नियन्त्रणमा लियो कि भन्ने डर लागेको छ । अहिलेसम्म केही खबर छैन । ’
दुई हप्ताअघि म्यानमारबाट भागेका मोहम्मद इलिसासले पनि रोहिंज्या महिलाहरुले यौन दुव्र्यवहार भोगिरहेको बताएका छन् । उनले एउटा घटना सुनाउँदै भने, ‘उनको काखमा बच्चा थियो तर पछि मैले उनको आधा जलेको शरीर पाँच अरु शवसँग लडिरहेको देखें । ’
बांग्लादेशका डाक्टर र अरु अन्तर्राष्ट्रिय संस्थाहरुले रोहिंज्या महिला र बालबालिकालाई बांग्लादेशको कक्स बजारमा प्राथमिक उपचार गरिरहेका छन । लाज र डरका कारण धेरै महिला उपचार गर्न नआएको चिकित्सकहरु बताउँछन ।
उकियास्थित बांग्लादेशका सरकारी डाक्टर मेजबाउद्दिन अहमदले अहिलेसम्म १८ वटा बलात्कारका घटना सुनेको बताए ।


