![]()
काठमाडौं । पल्सर स्पोर्ट्स अवार्डको टिम अफ दि इयर विधाको उत्कृष्टमा पुरुष भलिबल भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा टिम अफ दि इयरमा पुरुष भलिबल भएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष प्रदान गर्दै आएको स्पोर्ट्स अवार्डको टिम विधामा पुरुष भलिबलले जितेको हो । नेपाली पुरुष भलिबलले गत बर्ष मालेमा सम्पन्न तेस्रो एसियन सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेको थियो ।
युवा खेलाडीमा जुडोकी मनिता

पल्सर स्पोर्ट्स अवार्डको युवा खेलाडीमा जुडोकी मनिता श्रेष्ठ प्रधान घोषित भएकी छिन् । उनले उनले ४ जना प्रतिस्पर्धीलाई पछि पार्दै युवा खेलाडीको अवार्ड जितेकी हुन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष प्रदान गर्दै आएको स्पोर्ट्स अवार्डको यो बर्षको उत्कृष्ट युवा खेलाडीमा मनिताले जितेकी हुन् । उनले क्रिकेटका दिपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीलाई पछि पार्दै अवार्ड जितिन् ।
उत्कृष्ट प्रशिक्षकमा एथ्लेटिक्सका पुष्पराज ओझा
पल्सर स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड एथ्लेटिक्सका पुष्पराज ओझाले जितेका छन् । उनले फुटबलका ग्योतुकी कोजी, फुटबलकै मेघराज केसी, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टनका किरण केसीलाई पछि पार्दै अवार्ड जितेका हुन् । पुष्पराज रियो ओलम्पिकमा सरस्वती भट्टराई र हरि रिमालका प्रशिक्षक थिए ।
पिपुल्स च्वाइस अवार्डमा कान्छीमाया कोजु
पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस अवार्ड एथ्लेटिक्सकी कान्छीमाया कोजुले जितेकी छिन् । चार जना प्रतिस्पर्धीलाई पछि पार्दै कान्छीमायाले पिपुल्स च्वाइस अवार्ड जितेकी हुन् । क्रिकेटका दिपेन्द्रसिंह ऐरी, फुटबलका सुजल श्रेष्ठ, जुडोकी फुपु ल्हामु खत्री र पौडीकी गौरिका सिंह यो विधाको मनोनयनमा परेका थिए । पिपुल्स च्वाइस अवार्डबाट सम्मानित भएकी कान्छीमाया कोजुले पल्सर मोटरसाइकल प्राप्त गरेकी छिन् । त्यस्तै, पारा एथलिट अवार्डबाट क्रिकेटका पदम बढेला सम्मानित भएका छन् भने बन्दी सहायता नियोग पामलाई स्पेशल अवार्डबाट सम्मान गरिएको छ ।
लाइफ टाइम अचिभमेन्ट अवार्ड घनश्याम थापालाई
पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्डबाट गल्फ प्रशिक्षक घनश्याम थापा सम्मानित भएका छन् । पूर्व गल्फर थापाले नेपाली गल्फमा पु¥याएको योगदानको कदर स्वरुप उनलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो ।


