![]()
काठमाडौं । परराष्ट्र मन्त्रालयले उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराको चीन भ्रमणको तालिका सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री महरा चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा बुधवार चीनको ६ दिने भ्रमणमा जाने भएका हुन ।
परराष्ट्र मन्त्रालयका अनुसार महराले भ्रमणका क्रममा बेइजिङमा वाङ यीसँग प्रतिनिधिमण्डल स्तरीय छलफल गर्नेछन । वाङले परराष्ट्रमन्त्री महराको सम्मानमा लञ्च कार्यक्रम आयोजना गर्नेछन । भ्रमणका दौरान चीनका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम पनि तय भएको छ ।
महरा बेइजिङस्थित चाइना फरेन अफेयर्स विश्वविद्यालयमा आयोजना हुने अन्तक्रिया कार्यक्रममा पनि सहभागी हुनेछन् । बेइजिङपछि उनी सेप्टेम्बर १० मा ग्वानझाओ पुगेर हालै स्थापना गरिएको कन्सुलेट कार्यालयको उद्घाटन गर्नेछन । त्यहाँ उनले व्यापारिक समूदाय र प्रान्तीय नेताहरुलाई सम्बोधन गर्नेछन् ।
आगामी ११ सेप्टेम्बर महरा स्वदेश फर्किने कार्यक्रम छ । वाङले हालै मात्र नेपालको भ्रमण गरेका थिए । सो क्रममा नेपाल र चीनबीच महत्वपूर्ण सम्झौताहरु भएका थिए ।


