![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आफनो पार्टीले मधेश केन्द्रीत दलहरुसंगको तालमेललाई प्राथमिकता दिएको बताउनु भएको छ ।
सोमबार बिराटनगर बिमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष दाहालले अशोज २ गते प्रदेश नम्बर २ मा हुन गैरहेको स्थानीय तह निर्वाचनमा आफनो पार्टीले संघीय गणतन्त्र पक्षधर त्यसमा पनि मधेश केन्द्रीत दलहरुसंग सहकार्य गर्ने जानकारी दिनुभयो । उहाँले तालमेलका लागि पार्टीले ढोका खुल्ला राखेको समेत बताउनुभयो ।
‘हामी संघीय गणतन्त्रपक्षधर सवैसँग तालमेका लागि खुला छौँ । तर, दुई नम्वर प्रदेशको हकमा मधेशवादी शक्तिसँगको तालमेल प्राथामिकतामा छ । राजपादेखि संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकलगायतका शक्तिसँग तालमेल प्राथामिकता हुन्छ ।’ दाहालले भन्नुभयो ।
अध्यक्ष दाहालले विराटनगरमा रहेको भारतीय महाबाणिज्य दूतावासको कार्यालय हटाउनुपर्ने समेत धाराण राख्नुभयो । माओवादी नेता नारायणकाजी श्रेष्ठले परराष्ट्रमन्त्री हुँदा उक्त कार्यालय हटाउन निर्देशन दिएका थिए ।


