![]()
काठमाडौ,१२ भदौ ।
भारतको सिलगुढीमा १८ दिन थुनामा रहेको इलामका उदयहाङ फागोका परिवारले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।
आफ्नी आमाको उपचारका लागि सिलगुढी गएका बेला पश्चिम बंगाल सरकारले झुटा आरोप लगाएर पक्राउ गर्दा नेपाल सरकारले छुटाउनका लागि कुनै पहल नगरेको आरोप फागोका परिवारले लगाएका हुन् । इलाम जिल्ला सुर्योदय नगरपालिका–१० निवासी उदयहाङ फागोलाई पश्चिम बंगाल प्रहरीले दार्जिलिङ आन्दोलन लगायतका अपराधिक गतिविधिमा संलग्न रहेको झुटा आरोप लगाएर पक्राउ गरेको थियो । मानव अधिकार परिषद् नेपालले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै पक्राउ परेर १८ दिनको थुनापछि मुक्त भएका उदयहाङ फागोकी दिदी साधना फागोले नेपाल सरकार र राष्ट्रिय मानव अधिकार अयोग निरिह रहेको अरोप लगाइन् ।
अस्पतालबाट नै उदयहाङलाई सोधपुछका लागि भनेर प्रहरीले पक्राउ गरेर १८ दिनसम्म थुनामा राखेको उदयकी दिदी साधनले जानकारी दिईन् । सादा पोशाकमा आएका प्रहरीले माथिको आदेश भन्दै जबरजस्ती पक्राउ गरेको साधनाको भनाई छ । २ मिनेटका लागि भनेर लगिएपनि अलमल्याएर भोलिपल्टसम्म राखेर अदालतमा मुद्दा दायर गरिएको साधनाले बताईन् । मुद्दा दायरपछि म्याद थप गर्दै दुःख दिइएको थियो ।
अहिले पनि साधारण तारेखमा छुटाइएको भन्दै उदयकी दिदी साधनाले अब तारेख धाउन नजाने अडान लिएकी छिन् ।‘सरकारले नै अब नेपाली नागरिकका लागि तारेख धाउनुपर्छ । मुद्दा खेप्नुपर्छ ।’ साधनाले भनिन् । यसक्रममा नेपाल सरकारलाई विभिन्न तरिकाबाट ध्यानाकर्षण गराउँदा पनि छुटाउनका लागि कुनै पहल नगरिएको उदयका दाजु शरण फागोले बताए । भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराज नेपाल आएका बेला समेत समस्याका बारेमा जानकारीसहित पत्र पठाउँदा पनि कुनै पहल नभएको शरणको भनाई छ ।
तर,यसरी छुटे उदयहाङ….
सरकारी निकाय र मानवअधिकार आयोगबाट कुनै पहल नभए पनि उदयका परिवारले छुटाउने प्रयास गरिरहेका थिए ।यसबीचमा विभिन्न संचारमाध्यममा घटना समाचारको रूपमा बाहिर आएपछि मानव अधिकार परिषद्को ध्यानाकर्षण भएको थियो । छुटाउनका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनाल, तुलसी थापा ,इलामबासी, पत्रकार लगायतको पनि सहयोग मिलेको थियो । पराराष्ट स्रोतका अनुसार पूर्बप्रधानमन्त्री खनाले उदयलाई रिहाई गर्न भारतको केन्द्रिय सरकार र भारतको लागि नेपाली राजदुताबासलाई पटक–पटक आग्रह गरेका थिए ।

स्रोतका अनुसार पूर्बप्रधानमन्त्री खनालकै कुटनैतिक पहलमा भारतीय राजदुतावास र सरकार वाला निकायमा रिहाइको लागि दबाब सिर्जना भएको थियो । भारतीय प्रहरीबाट अत्याचार खेपेका फागोले भनेः‘पूर्वप्रधानमन्त्री झलनाथ खनालको अथक प्रयासमा म भारतीय प्रहरीको हिरासतबाट मुक्त भए । पूर्वप्रधानमन्त्री खनालले प्रयास नगरेको भए म अहिलेसम्म पनि हिरासतमै हुने थिए । पूर्वप्रधानमन्त्री खनाल त पूरै इलामेली जनताका अविभावक रहेछन्,उनी एमालेका नेता मात्र होइनन् ।’
कार्यक्रम मानवअधिकार परिषदका अध्यक्ष तुलसी थापाले झुटो आरोपमा थुनामा परेका उदयहाङलाई छुटाउन धेरै मिहिनेत गर्नुपरेको बताए । सामान्य प्रक्रिया पूरा गर्न पनि भारतीय पक्षले दुःख दिएको गुनासो थापाले गरे । थापाले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग यस्ता समस्याको विषयमा कुनै कुरा नगरेको भन्दै आक्रोश व्यक्त गरे।


