Breaking News.... EverestOnlineKhabar
June 19, 2026

प्रदेश नम्बर–२ को निर्वाचनः उम्मेद्वार टुङ्गो लगाउन सकेनन् दलहरुले….

Loading

काठमाडौ,११ भदौ ।
आगामी असोज २ गते हुने प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न दलहरुलाई सकस भएको छ । उम्मेदवार छान्न दलहरुले आन्तरिक छलफल गरिरहे पनि सफल हुन सकेका छैनन् । पार्टीभित्रको विवादका कारण दलहरु उम्मेदवार छान्न असफल भएका हुन् ।
पार्टीभित्र उम्मेदवारका आकांक्षी धेरै भएपछि दलहरु प्रदेश नम्बर–२ मा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न सकिरहेका छैनन् ।यतिमात्र नभइ पार्टीभित्रका गुट–उपगुट, खिचातानी र प्रतिस्पर्धामा दलहरुलाई समयमै उम्मेदवार छान्न कठिन भइरहेको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रदेश नम्बर–२ मा हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवार छान्न सकिरहेको छैन । कांग्रेसले असोज २ को स्थानीय तह चुनावका लागि साउन मसान्तभित्रै उम्मेदवार चयन गरिसक्ने जनाएको थियो । तर, अहिलेसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने लगभग ९० प्रतिशत उम्मेदवारको टुंगो लगाइसकेको जनाएको छ । पार्टी सचिव प्रदीप ज्ञवालीले उम्मेदवारी छनोटमा कुनै समस्या नरहेको भन्दै अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै उम्मेदवार सार्वजनिक गरिने जानकारी दिए । सत्तारुढ दलको प्रमुख एक घटक नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार छनोट गर्न सकेको छैन ।
तराईमा आएको बाढी, अरु दलहरुसँगको सहकार्यलगायतका कारण उम्मेदवार चयनमा ढिलाइ भएको नेता हरिबोल गजुरेल बताउँछन् । दुई चरणमा स्थानीय तह निर्वाचन बहिस्कार गरेको राजपा पनि २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्यमा लागेको छ ।
यस्तै, अरु दल पनि छनोटको गृहकार्यमा लागेपनि आन्तरिक विवादका कारण उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।
प्रदेश नम्बर–२ मा हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले भदौ २१ गते उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed