![]()
भक्तपुर,११ भदौ ।
अरनिको राजमार्गको पलाँसे सडकखण्ड भाँसिएपछि दुईतर्फी यातायात अबरुद्ध भएको छ । सडक र खोलाको जग्गा अतिक्रमण गरी व्यक्तिले खोला पुरेपछि अरनिको राजमार्गअन्तर्गत पलाँसेस्थित मुख्य सडक खण्ड भासिएको हो । केही दिनअघि सूर्यविनायक नगरपालिका–९ पलाँसेस्थित स्थानीय प्रकाश जोशी र गजेन्द्र फोजु श्रेष्ठले सडकको जग्गा अतिक्रमण गरी व्यापारिक प्रयोजनका लागि कुसुमे खोलामा तारजाली लगाई खोला पुरेका थिए ।
खोलामा तारजालीको पर्खाल निर्माण गरी ह्युमपाइप राखेर जग्गा सम्याएपछि खोला थुनिएर सडक भासिएको स्थानीयवासी बताउँछन् । पलाँसेमा भासिएपछि अरनिको राजमार्ग भएर चल्ने पूर्वतर्फको यातायात सेवा प्रभावित भएको छ । अरनिको राजमार्ग भएर चल्ने काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा र बीपी राजमार्गअन्तर्गत सिन्धुली–बर्दिवास सडक खण्ड हुँदै रामेछाप, सिन्धुली, महोत्तरी, उदयपुर, झापालगायत पूर्वी क्षेत्रको यातायात आवागमन सेवा प्रभावित भएको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष उपेन्द्र केसीले बताए ।
पछिल्लो समय नारायणघाट–मुग्लिन सडक अवरुद्ध भएपछि अरनिको राजमार्ग हुँदै बीपी राजमार्ग सडक खण्डअन्तर्गत सिन्धुली–बर्दिवास सडक प्रयोग गर्ने सवारी साधन बढेका छन् । सडक र खोलाको जग्गा अतिक्रमण भएको विषयलाई लिएर स्थानीयले विरोध गर्दा पनि अटेर गरी र वडा कार्यालयलाई समेत जानकारी नदिई खोला पुरेर जग्गा सम्याउने काम गरेको वडा अध्यक्ष केसीले बताए । सडक भासिएका कारण शुक्रबार बिहानैदेखि अरनिको सडकअन्तर्गत पलाँसेमा प्रहरीले एकतर्फी आवागमन सञ्चालन गरेको छ ।
कुसुमे खोलाको दायाँबायाँ आफ्नो जग्गा भएकाले खोलामा ह्युमपाइप राखेर खोलामाथि व्यापारिक प्रायोजनका लागि जग्गा सम्याउँदा सडक भासिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।


