![]()
काठमाडौं । काठमाडौंमा जारी साफ यू १५ च्याम्पियनसिप अन्तर्गत आफनो पहिलो खेलमा नेपालले माल्दिभ्समाथि शानदार जित हासिल गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्स नेपालसामु निकै निरीह देखियो । यसअघि भारतसंग ९–० ले पराजित भएको माल्दिभ्स नेपालसंगको हारपछि प्रतियोगिताबाटै बाहिरिएको छ ।
नेपाली टोलीले हाफ टाइमसम्म ४–० को अग्रता लिएको थियो । नेपालका लागि १०औं मिनेटमा पहिलो गोल ब्रिजेश चौधरी र २०औं मिनेटमा दोस्रो गोल दर्शन गुरुङले गरेका थिए । कप्तान रोशन रानामगरले पेनाल्टीमार्फत ३६औं मिनेटमा तेस्रो गोल गरे । ४५औं मिनेटमा आकाश बुढा मगरले चौथो गोल थपे ।

दोस्रो हाफको सुरुआतमै रोशन दोङले गोल थपेर नेपालको अग्रता ५–० बनाए । ब्रिजेशले ७३औं मिनेटमा लामो प्रहार गर्दै गोल गरेपछि समग्रमा नेपाल ६–० ले विजयी भयो । अब नेपालले बुधवार भारतको सामना गर्नेछ । भारतसंगको जितले समूह बिजेताको टुंगो लाग्ने छ ।


