![]()
बाँके । बाढी र डुबानग्रस्त तराईका बिभिन्न जिल्लामा भाइरल रोगको संक्रमण देखा परेको छ । बाँके, बर्दिया, रौतहट, सप्तरी, बिराटनगर लगायतका जिल्लामा भाइरल रोगका बिरामी धमाधम भेटिन थालेका छन ।
बाँकेको राप्तीसोनारी, डुडुवा, नरैनापुर र खजुरा गाउँपालिकाका विभिन्न ठाउँमा बाढीबाट विस्थापितलाई ज्वरो, रुघाखोकी, झाडापखालालगायतमा रोगको संक्रमण देखिएको छ । अन्य जिल्लाका बिरामीहरुमा यीनै लक्षण देखिएका छन । केही ठाउँमा भने सर्पदंशका घटना पनि बढेका छन ।
जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मी विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएपनि बिरामीहरुले उपचार पाउन सकेका छैनन ।
विभिन्न प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । राप्ती नदी र विभिन्न खोलामा आएको बाढीले जिल्लाका करिब नौ हजार ५०० परिवार प्रभावित भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रभावित क्षेत्रमा झाडापखाला, ज्वरो आउने, टाउको दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या बढी देखिएको छ ।


