![]()
सर्लाही । बाढी र डुबानले पीडित भएकाहरुको उद्दारका लागि तराई झरेका कलाकार एवम समाजसेवी सिताराम कट्टेल अर्थात धुर्मुसले अर्को एक उदाहरणीय काम गरेका छन । महोत्तरीको बर्दिवासमा आफै नदीमा छिरेर पीडितहरुको उद्दार गरी राहत बाँडेका धुर्मुसले सर्लाहीमा आगोले पोलेर थलिएकी एक गरीब महिलाको उद्दार गरेका छन ।
धुर्मुसेले ६ महिना यता थला परेकी रत्नदेवी माझीको उद्दार गरेका हुन । आगोले पोलेर शारीरिक समस्या भोगिरहेकी माझीलाई कट्टेलले अस्पताल लगी उपचार गराएका हुन । लालबन्दी ५ बेतीनी, माझी गाउँकी रत्नेदेवीलाई हाल बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरिएको छ । राहात सामग्री र मेडिकल टोलीसहित लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका बाढी पिडितलाई राहात वितरण गर्नेक्रममा रत्नदेवीलाई भेटेका हुन् ।
६ महिना अघि लुगाबाट सल्कीएको आगोले रत्नेदेवीको पुरै शरीर डढेको थियो । चरम गरिबीका कारण उनले आफनो राम्रो उपचार गर्न सकिनन । उनको हातखुट्टाको नशा समेत खुम्चिदै आएको छ । अब धुर्मुस फाउण्डेसनले उनको खर्च बेहोर्ने भएको छ । खुम्चीएका नशालाई सोझ्याउन अपरेशन गर्नु पर्ने डक्टरले बताएका छन् । त्यसका लागि केही दिनमै उनलाइ काठमाडौं ल्याउने तयारी गरिएको छ ।


