![]()
काठमाडौं । व्यवस्थापिका संसदमा सिमा क्षेत्रमा भारतले बनाएको बाँध तथा तटबन्धका कारण बर्षेनी तराई क्षेत्रमा डुबान हुने गरेको भन्दै भारतलाइ क्षतिपूर्ती दिलाउनुपर्ने आवाज उठेको छ ।
भारतकै कारण नेपालले हरेक बर्ष बाढी र डुबानको समस्या झेल्नुपरेको, सयौंले ज्यान गुमाउनु परेको भन्दै भारतीय पक्षसंग क्षतिपूर्ती माग्नुपर्ने सांसदहरुले बताएका हुन ।
बुधबार व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै एमाले सांसद अष्टलक्ष्मी शाक्यले ऐन अभावमा काम गर्न समस्या भएको नभई राष्ट्रियताको भावना कमजोर भएकाले समस्या उत्पन्न भएको धाराण राखिन ।
सांसद अनुराधा थापाले नेपालको सिमा क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड विरुद्ध भारत सरकारले कयौ बाँध र तटबन्ध बनाएकाले डुबान भएको बताइन । उनले अबैध बाँध र तटबन्धविरुद्ध न्याय खोज्न सरकार अग्रसर हुनुपर्ने बताइन् ।
यस्तै, सांसद रुक्मिणी चौधरीले बाढी र डुबानको दोष अरुलाई दिनुभन्दा आफैलाई हानी पुग्ने गरी सन्धि संम्झौता गर्ने नेता र राजनितिक दलले जिम्मेवारी लिनुपर्ने तर्क गरिन् ।
नेकपा माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले साधन स्रोतको समुचित व्यवस्था गरि तत्काल विस्थापित परिवारका लागि राहत प्याकेज सहित अस्थायी वासस्थानको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
एमालेका सांसद राजन भट्राईले प्रधानमन्त्रीको निर्देशनपछि पनि राजधानीका सडकको अवस्था ज्युका त्युँ रहेको भन्दै ठुला आयोजनाका नाममा कार्यालय खोलेर बस्ने तर काम नगर्ने प्रवृतिप्रति सरकारको ध्यानाकर्षण गराए ।


