![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संविधान संशोधन र निर्वाचनको विषयमा फटाफट निर्णय गरी अघि बढने मनस्थितिमा पुग्नु भएको छ । यी दुवै विषयको टुंगो लगाइ बाढी पहिरोपीडितलाइ राहत, उनीहरुको पुनस्र्थापना र मुलुककै आर्थिक सुदृढीकरणमा तीव्र गतिमा अघि बढने सोच उहाँले बनाउनु भएको छ । यीनै विषयमा महत्वपूर्ण निर्णय गर्न उहाँले आज दुइवटा महत्वपूर्ण बैठक बोलाउनु भएको हो ।
आज पहिलो चरणको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
छलफलमा कांग्रेस सभापति समेत रहेका देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेता सहभागि हुनुहुनेछ । बैठकमा प्रधानमन्त्री देउवाले संविधान संशोधनका लागि संसदमा विचाराधीन रहेको संशोधन विधेयक निर्णायार्थ प्रस्तुत गर्ने या प्रतिपक्षको सहयोगमा सहमतिमै लैजाने भन्ने टुंगो लगाउनु हुनेछ ।
बैठकमा राजपाको माग अनुसार संशोधन विधेयकबारे प्रमुख दलबीच सहमति जुटाउने र नजिकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबारे कुराकानी हुने बालुवाटार स्रोतले जनाएको छ ।
आजबाटै व्यवस्थापिका संसदको बैठकमा संविधान संशोधन बिधेयकका बारेमा छलफल सुरु भएको छ । प्रधानमन्त्री देउवा सहमतिमै संविधान संशोधन गराउने प्रयासमा छन् । सहमति नभएमात्रै मतदानका लागि पेश गर्ने उहाँको तयारी छ ।
आजको बैठकले प्रदेशसभा र केन्द्रको निर्वाचन मिति तोक्न सहमति जुटाउने सम्भावना छ ।


