![]()
काठमाडौं । एउटा चासो सबैतीर छ, अब अखिल क्रान्तिकारीको नयाँ नेतृत्व को होला ? यसको निम्ति अखिलका बिद्यार्थी नेताहरु तीव्र लबिङमा त लागेका छन नै पार्र्टीका प्रभावशाली नेताहरुको समेत उत्तिकै चासो देखिएको छ । अखिलको नेतृत्वमा को आउला भन्ने कुराको छिनोफानो आउँदो भदौ ७ गते काठमाडौंमा हुन लागेको २१औं एकताको राष्ट्रिय सम्मेलनले पूरा गर्नेछ ।
अखिलको नेतृत्वका लागि अहिले आर सि अधिकारी, अनिल शर्म, रञ्जित तामाङ, पञ्चा सिंह, बिरेन्द्र बस्नेत र मदन अर्यालको नाम चर्चामा छ । सबैले भित्र भित्रै तयारी तीव्र पारेका छन । सम्मेलनका प्रतिनिधिहरुसंग सम्र्पक भेटघाट लगायत पार्टीका नेताहरुसंग समर्थन खोज्न एक किसिमको प्रतिष्पर्धा नै चलेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत प्रभावशाली नेताहरुले पनि नेतृत्व लगायत पदाधिकारीहरुमा चासो देखाइरहेका छन ।
नेतृत्वका आकांक्षी मध्ये आर सि अधिकारी बलियो उम्मेदवार हुन ।

काठमाडौं बागबजार आसपास भेटिएका केही प्रतिनिधिकै भाषामा भन्ने हो भने अधिकारी कुशल संगठक, बैचारिक र स्पष्ट शैक्षिक एजेण्डा भएका नेता हुन । उनी संगठन भित्र ‘हिरासत ब्रेकर’ का नामले पनि परिचित छन । २०५९ सालमा उनले हेटौंडा पशुपतिनगर इलाका प्रहरी कार्यालयमा ‘हिरासत ब्रेक’ गरेका थिए ।
नेतृत्वका अर्का दावेदार अनिल शर्मा गृहमन्त्री जनार्दन शर्माका भाई हुन । चितवन निवासी शर्मा संगठनमा निरन्तर रुपमा लाग्दै आएका कुशल युवा नेता हुन ।
नेतृत्वका लागि अर्का आकांक्षी रञ्जित तामाङ झापाबाट प्रतिनिधित्व गर्छन । उनी संगठनमा लडाकु नेताको रुपमा परिचित छन ।
यस्तै, रामबहादुर थापा समूहका बिरेन्द्र बस्नेत पनि नेतृत्वका अर्का दावेदार हुन । उनी बेपत्ता परिवारका सदस्य हुनुकासाथै संगठन भित्र जुझारु छबि बनाएका नेता हुन ।
पार्टी नेता नारायणकाजी श्रेष्ठ निकट मदन अर्याल पनि नेतृत्वका अर्का दावेदार हुन । उनले संगठन भित्र बैचारिक नेताको छवि बनाएका छन ।
कर्णाली क्षेत्रको प्रतिनिधित्व गर्ने पञ्च सिंहले पनि नेतृत्वमा दावी गरेकी छन । संगठनमा नेतृत्व दावी गर्ने उनी एक्लो महिला हुन ।
तयारी अन्तिम चरणमा
सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि व्यवस्थापन समितिले सातवटै प्रदेशबाट गरी २०७२ प्रतिनिधि चयन गरिसकेको छ । भदौ ७ गतेबाट ११ गतेसम्म चल्ने सम्मेलनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ ।
३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय कमिटी
सम्मेलनले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ :
अध्यक्ष–१
उपाध्यक्ष– ९ ( खुल्ला–४, समावेशी–४, मनोनित–१)
महासचिव–१
उपमहासचिव–५ (३ खुल्ला, १ महिला, १ मनोनित)
सचिव –१६ ( ७ प्रदेश, २ खुल्ला, २ महिला, १ दलित, १ बिश्वबिद्यालयबाट, १ मधेशी, १ मुश्लिम, १ आदिवासी जनजाती )
कोषाध्यक्ष–१
सम्मेलन खर्च ३० लाख
राष्ट्रिय सम्मेलनका लागि केन्द्रमा ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतिनिधिहरुको आउने जाने, बस्ने र खाने सम्पूर्ण व्यवस्था सम्बन्धीत प्रदेश कमिटीले गर्नेछ ।


