![]()
नवलपरासी । नारायणी नदीमा पानीको सतह खतराको तह भन्दा माथि पुगेको छ । गण्डक बाँध रहेको त्रिवेणीमा पानीको तह ७ दशमलव ३ मिटर भन्दामाथि देखिएको छ । गण्डकको देबघाटमा भन्दा त्रिवेणी बांधमा पानीको सतह धेरैमाथि देखिएको छ । नारायणीमा पानीको बहाब ४ लाख २५ हजार (क्यूसेक) प्रतिसेकेण्ड रहेको छ ।
गण्डक बाँधको १२ नम्बर ठोक्कर कटान गरेका कारण स्थानियले बोरामा ढुंगा बालुवा भर्न थालेका छन् । नारायणगढ भन्दा २२ किलोमिटर दक्षिणमा रहेको गण्डक बाँध सम्मका खोलाहरुमा आएको बाढि र लगातारको झरीका कारण गण्डक बाँध रहेको स्थानमा पानीको सतह एक्कासी बढेको हो । खासगरि कावासोती, मध्यबिन्दु नगरपालिका र बिनयी त्रिवेणी गाबिसका नदी किनारका बासिन्दा बाढीको उच्च जोखिममा रहेका छन् ।
मध्यबिन्दु नगरपालिकाको दक्षिण नारायणी नदी किनारमा रहेको शेहरी , नन्दपुर , ब्रम्हस्थान र बिनयी त्रिवेणी गाउपालिकाको बबुअन क्षेत्रका करिब ५ सय घर डुवानमा परेका छन् । सुस्ता आसपास ,पक्लिहवा , नरसहि र कुडिया क्षेत्रमा बाढी खतराको तह भन्दामाथि देखिएकाले सबै सुरक्षा निकायलाई परिचालन गरिएको छ ।
पानीको सतह बढेपछि त्रिवेणी , बबुअन , सुस्ता , नरसहि , पक्लिहवा , प्रतापपुर , बेलाटारी र कुडिया क्षेत्रका बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन् । उता गैडाकोटदेखि त्रिवेणी सम्मको क्षेत्रमा नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन सुरक्षाकर्मी परिचालन गरिएको छ ।


