![]()
दैलेख । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय जनता पार्टी (राजपा) ले तराईका सम्पूर्ण जनताको अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाउनु भएको छ ।
दैलेखमा आयोजित ‘प्रदेश नम्बर ६ का सम्पूर्ण जनप्रतिनिधिहरुको अभिमुखिकरण प्रशिक्षण कार्यक्रम’ मा बोल्दै नेता खनालले बिभिन्न बाहनामा निर्वाचनमा भाग नलिने कुरा गरेर राजपाले आफनै मतदाताको अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले मुलुकको परिस्थिति र जनताको भावनालाइ बुझेर निर्वाचनमा भाग लिन पनि राजपालाइ सुझाव दिनुभयो ।
नेता खनालले व्यवस्थापिका संसद्मा बिचाराधिन संविधान संशोधन बिधेयक नेकपा एमालेले कुनैपनि हालतमा पारित हुन नदिने चेतावनी समेत दिनुभयो । अहिले मुलुकको पहिलो आवश्यकता निर्वाचन भएकाले प्रदेश र केन्द्रको निर्वाचन नभएसम्म संविधान संशोधनको विषय ल्याउनु बेमौसमी बाजा भएको टिप्पणी गर्नुभयो ।
नवनिर्वाचित जनप्रतिनिधिलाइ निर्देशन दिंदै खनालले भन्नुभयो, ‘ दायाँबायाँ केही नगरी, जनताको भावना र स्थानीय आवश्यकता अनुसार काम गर्नुहोला । मुलुकको समृद्धि र पार्टीको हीतका लागि तपाईहरुको भूमिका ठूलो छ, यो कुरा बुझनु होला । ’

नेता खनालले सरकारले बाढी पीडितको उद्दार र राहतमा निकै सुस्त गतिमा काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । बिपद्को यो घडिमा छिटो भन्दा छिटो काम गर्न उहाँले सरकारलाइ सुुझाव समेत दिनुभयो ।
दैलेखको प्रशिक्षण कार्यक्रमपछि नेता खनाल सुर्खेत पुग्नु भएको छ ।


