![]()
काठमाडौ,२६ साउन ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को बैठक बिहीबार राजधानीमा सुरु हुँदैछ । बैठकमा भाग लिन सातै सदस्य राष्ट्रका विदेश सचिवलगायत अधिकारी काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्नसम्म विदेशमन्त्रीहरू काठमाडौं आइपुग्ने छन् ।
भारत, श्रीलंका, बंगलादेश र भुटानका विदेशमन्त्रीहरू क्रमशः सुष्मा स्वराज, रवि करुणनायके, अबुल हसन महमुद अली र दाम्चो दोर्जी बिहीबार नै काठमाडौं आइपुग्ने छन् । आसियन मुलुकहरू थाइल्यान्ड र म्यान्मारबाट उपविदेशमन्त्रीले पनि बैठकमा सहभागिता जनाउने छन् ।
अघिल्ला बैठकमा पहिचान भएका व्यापार, लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन, सञ्चार, ऊर्जा, कृषि, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता एक दर्जनभन्दा बढी विषयमा बैठकमा छलफल हुनेछ ।
तेस्रो शिखर सम्मेलन र यसअघिका मन्त्रीस्तरीय बैठकका निर्णय कार्यान्वयनको समीक्षाका साथै बिमस्टेकअन्तर्गतका पारस्परिक सहयोगका विषयलाई द्रुत गतिमा कार्यान्वयन गर्नेबारे १५ औं बैठक केन्द्रित हुने जनाइएको छ । बिमस्टेकका निर्णय कार्यान्वयन समीक्षाका लागि बिहीबार बिहानदेखि परराष्ट्र सचिवस्तरीय बैठक बस्नेछ । उक्त बैठक अपराहन सकिनेछ । मन्त्रीस्तरीय बैठक बिहीबार दिउँसो सुरु हुनेछ ।


