![]()
इलाम । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपाल नयाँ युगतर्फ अघि बढेकाले नेकपा एमाले पनि सोही अनुसार निश्चित संकल्प बोकेर अघि बढिरहेको बताउनु भएको छ ।
प्रदेश नम्बर १ संगठन कमिटीले इलाममा आयोजना गरेको ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखिकरण’ कार्यक्रमलाइ सम्बोधन गर्दै नेता खनालले एमालेको नीति कार्यक्रम र सिद्धान्तलाइ जनतालाइ पनि साथ दिइरहेकाले भोलिको दिन सुनौलो रहेको बताउनुभयो ।
उहाँले देशको मुक्ति, स्वतन्त्रता र समृद्धिका लागि ६८ वर्षदेखिको कम्युनिस्ट आन्दोलन अहिले धेरै मोड पार गदै आशातित सुखद् उचाईमा पुगेको दावी गर्नुभयो । कम्युनिष्ट आन्दोलनले अझै अझै धेरै उचाई पार गर्न नयाँ बाटो निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेता खनालले स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टी बनेकोमा गर्व गर्दै आउँदा चुनावमा अझ राम्रो परिणाम निकाल्ने गरी काम गर्न कार्यकर्तालाइ निर्देशन दिनुभयो । उहाँले असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनमा पनि एमाले नै पहिलो पार्टी बन्ने दावी गर्नुभयो ।
उहाँले २०६२ को आन्दोलनपछि जनवादी क्रान्तिको समापन भएको, सामन्तवाद सकिएको भएपनि समृद्धिको काम बाँकी नै रहेको उल्लेख गर्नुभयो ।
‘संविधानमा कतिपय जटिलता रहेपनि अहिलेको संविधान नेपालमा बनेको सबैभन्दा राम्रो, लोकतान्त्रिक, देशभक्तिपूर्ण, परिर्वतनका ढोका खोल्ने खालको छ । यसले समाजवादको गन्तव्य पनि देखाएको छ, अब आन्दोलनका उपलब्धि संस्थागत गर्नुछ । ’ खनालले भन्नुभयो ।
नेता खनालले अबको गन्तव्य समाजवाद भएको तर संविधानमा त्यसको बाटो मात्रै देखाएर भन्दापनि कार्यान्वयन गरेर जानुपर्ने धारणा राख्नुभयो । उहाँले समाजवादी प्रणालीकै कारण चीन, भियतनाम जस्ता मुलुकहरु सफल भएकाले हामीले पनि त्यसको अनुशरण गर्नुपर्ने उल्लेख गर्नुभयो ।


