![]()
काठमाडौं । नेपाल वायु सेवा निगममा कहिले व्यवस्थापनको समस्या त कहिले जहाजको लफडा । अहिले पनि ठूला र साना जहाज खरिदको विवाद उत्कर्षमा छ । ग्राउण्डेड जहाज बेच्नै सकिएको छैन । व्यवस्थापन हेर्ने जिम्मा बिदेशी कम्पनीलाइ दिने गृहकार्य भैरहेको छ । घाटा बढेको बढ्यै छ । महाप्रवन्धक सुगतरत्न कंशाकारबिरुद्ध निगमकै कर्मचारी लागेका छन । यतिसम्मकी उनले ठूलो जहाज किन्न अघि बढाएको प्रक्रियाकाबिरुद्धमा निगमकै कर्मचारीले लेखा समितिमा उजुरी हालेका थिए ।
दिनप्रतिदिन धराशायी हुँदै गएको निगमको आम्दानी बढाउन लेखा समितिमा पनि बहस भयो । अन्ततः संसदको सार्वजनिक लेखा समितिले बुधवार एउटा रमाइलो निर्देशन दियो । त्यो हो –‘सार्वजनिक पद धारण गरेका तथा निजामती कर्मचारीले हवाई यात्रा गर्दा नेपाल वायुसेवा निगमको विमान मात्र प्रयोग गर्ने ।’
समितिको निर्देशन निगमका लागि स्वागतयोग्य कदम हो । तर, के निगमले समयमै जहाज उडाउने, सेवाको गुणस्तर उच्चस्तरको बनाउने लगायतका पक्षमा सुधार गर्न सक्छ ? यो प्रश्न स्वयं लेखा समितिकै सदस्यहरुबीच पनि उठेको थियो ।
अब समितिको निर्देशनको पालना र निगमको व्यवस्थापनको प्रभावकारिता कतिको हुन्छ, त्यो भने सबैका लागि प्रतीक्षाको विषय बनेको छ ।


