![]()
काठमाडौ,१९ साउन ।
नेपाल वायुसेवा निगमले एक विदेशी पाइलटलाई मासिक २६ लाख ५० हजार रुपैयाँ (२६ हजार पाँच सय अमेरिकी डलर) तलब दिएर उपमहाप्रवन्धक बराबरको हैसियतमा नियुक्त गरेको छ । ‘निगमलाई अत्यावश्यक व्यक्ति’ र ‘प्राविधिक विशेषताले भरिपूर्ण’ भन्दै निगम व्यवस्थापनले इटालीका ६६ वर्षीय ग्याब्रिएल एसेन्जो (गेब) लाई मासिक साढे २६ लाख रुपैयाँ तलब दिनेगरी दुई वर्षका लागि नियुक्त गरेको हो ।
गेबले निगममा जहाज उडाउने काम भने गर्नेछैनन् । उनको काम निगमको जहाज सञ्चालन, चालक दलको तालिम, उडान मापदण्ड र सुरक्षा, नियम पालनालगायत हेर्ने हो । त्यसैगरी निगमले न्युजिल्यान्डका पेनिएटा माएभालाई मासिक १८ लाख रुपैयाँ तलब दिएर १७ सिटे चिनियाँ जहाज वाई१२–ईको प्रशिक्षक पाइलट नियुक्त गरेको छ । माएभालाई निगमले दोस्रो पटक नियुक्त गरेको हो ।
तर,आफुसंग भएका स्वदेशी पाइलटहरुलाई भने निगमले सन्तुष्ट पार्न सकेको छैन् । कम तलब र सुविधा भएको भन्दै स्वदेशी पाइलटहरु वायुसेवा निगमलाई छोडेर निजी विमान कम्पनीका विमान चलाउन थालेका छन् । तर, नेपाल वायु सेवा निगमले यो समस्याप्रति कुनै चासो देखाएको छैन् ।


