![]()
चितवन,१९ साउन ।
नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै बुधबार राती खसेको पहिरोले बगाएर एक यात्रुबाहक बस बेपत्ता भएको छ भने एउटा जिप पुरिएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौंबाट इलाम जान आउँदै गरेको ना ६ ख ७१२१ नम्बरको बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो भने बा १५ च ९३८१ नम्बरको स्करपियो जिपको अघिल्लो भाग पहिरोले पुरेको हो ।
माथिबाट ढुंगा खस्न थालेपछि चालकले बस रोकेर सबै यात्रु झारेलगत्तै ठूलो पहिरोले बसलाई त्रिशूलीमा झारेको हो । बसको पछिपछि रहेको स्करपियो रोकेर चालक भागेर बचेको प्रहरी उपरीक्षक थापाले बताए । मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिका–६ कालीखोला नजिकै साँझ ७ः३५ बजे पहिरो खसेको हो । पहिरो पन्छाउन साँझ मुग्लिनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी जाने क्रममा दुई किलोमिटरमा पुनः पहिरो खसेपछि रातमा पहिरो पन्छाउन नसकिएको थापाले बताए ।
दुवै ठाउँको पहिरो पन्छाउने काम र बेपत्ता बसको खोजीकार्य बिहीबार बिहानैदेखि शुरु भएको उनले बताए । पहिरो खसेका दुवै ठाउँमा लेदो बगिरहेकाले काममा कठिन भएको छ । स्तरोन्नति भइरहेको सो सडकको बुधबारमात्र प्रधानमन्त्री शेरबहादुर देउवाले निरीक्षण गरी छिटो काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।


