![]()
काठमाडौ,१८ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको निरीक्षण गर्ने भएका छन् । आज बिहान ९ बजे उनी अवलोकनमा जाँदैछन्। उनीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सम्बन्धित अन्य अधिकारी पनि जाँदैछन् ।‘अहिलेसम्म भएको कामको प्रगति निरीक्षण गर्नुको साथै कामलाई तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिनेछन् ।’ यातायातमन्त्रीका सञ्चार अधिकृत रमेश जोशीले भने।
प्रधानमन्त्रीले दसैँ, तिहार, छठलगायत चाडपर्वअघि नै सडक सुचारु गर्न निर्देशन दिने तयारी गरेका छन्। अहिले राति ११ घन्टासम्म नारायणघाट–मुग्लिङ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। चाडपर्वसम्ममा पनि सडक सुचारु नभए यस वर्ष अघिल्ला वर्षको तुलनामा आवतजावत गर्न गाह्रो हुने सडक विभागका अधिकारीहरूको भनाइ छ। अहिले पहिलो प्राथमिकतामा राखेर सडक निर्माण भइरहेको विभागका प्रवक्ता दयाकान्त झाले बताए।
यसअघि मंगलबार नै भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्की मुग्लिन–नारायणगढ सडक निर्माण क्षेत्रमा पुगिसकेका छन्। मुग्लिन–नारायणगढ सडकखण्डमा २५ असारदेखि रातको समयमा अनिश्चितकालीन बन्द गरिएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाले सवारीसाधनको किसिम र सडकको रुटअनुसार साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिरहेको छ। यसको कारण दैनिक हजारौँ यात्रुले सास्ती खेप्नुपरिरहेको छ। सवारी सञ्चालन कार्य रातको समयमा ११ घन्टासम्म बन्द भइरहेको छ। संसद्को विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनअनुसार सडकमा रात्रिकालीन समयमा सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाइएको छ।


