![]()
धरान । बलिउडकी भेट्रान अभिनेत्री मनीषा कोइराला एकाएक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्त्री तथा प्रसूति विभागको फिस्टुला युनिटमा पुगिन् । एउटै कारण थियो फिस्टुला रोगी महिलाहरूको हालचाल बुझ्नु ।
यौन तथा प्रजनन अंगबाट लगातार दिसा र पिसाब चुहिने समस्याबाट ग्रसित महिलाहरुलाइ भेटेर उनले आवश्यक जानकारी मात्र लिइनन निकै ढाडस पनि दिइन । फिस्टुला भएकै कारण समाजमा विभेद खेपिरहनु परेकोले उक्त समस्याको अन्त्य हुनुपर्ने चासो लिएर आफू अस्पताल पुगेको उनले बताइन । अस्पतालमा उनले फिस्टुला पीडित पाँच जना महिलालाइ भेटेर कुराकानी गरेकी थिइन ।
मनीषा २०७२ मा गएको भूकम्पबाट पीडितका लागि काम गर्दा फिस्टुलाबारे जानकारी पाएपछि यसको अभियानमै लागेकी हुन् । उनले फिस्टुला पीडित महिलाको अवस्था र उनीहरुको उपचारबारे अस्पताल प्रशासनसंग पनि चासो राखेकी थिइन ।
कोइराला संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को सद्भावना दूतसमेत हुन् ।


