![]()
काठमाडौं । सन्दर्भ हो काठमाडौं उपत्यकाको सडक र ट्राफिक व्यवस्थापन । ज्योती बानियाँ अध्यक्ष रहेको उपभोक्ता मञ्च नेपाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको कार्यक्रममा उपस्थित थिए काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य । बिहान ९ बजे आउनुपर्ने शाक्य ढिलो गरी ११ बजे आइपुगे । मेयर हुन अगाडि पछाडी लवा लश्कर हुने नै भयो । शाक्यलाइ कुरेर बसेका थिए महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनाल, उपभोक्ता मञ्चका अध्यक्ष ज्योती बानियाँ, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला, कलाकार मनोज गजुरेल लगायत दर्जनौ पत्रकार र अन्य सरोकारवाला निकायका प्रतिनिधि ।
जब काठमाडौंको सडक र ट्राफिक व्यवस्थापनबारे बोल्नेक्रम सुरु भयो, सबैको तारो बने मेयर शाक्य । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख खनालले त महानगरपालिकाले नसक्ने भए सडक र ट्राफिक व्यवस्थापनको जिम्मा आफूलाइ दिन चुनौती नै दिए । खनालले तत्काल सडकको खाल्डाखुल्डी पुर्न र सडक बत्ती बाल्नको लागि शाक्यलाइ आग्रह पनि गरे । उनले भने, ‘ सडकमा ट्राफिक प्रहरीलाई काम गर्न गाह्रो भएको छ । खाल्डाखुल्डी तत्काल पुर्ने व्यवस्था गर्नुहोला ।’

सुन्दर र सफा सहर बनाउन सडक र बत्ती आवश्यक भएकाले तत्काल काम गर्न उनको आग्रह थियो । खनालले भने, ‘सडक बत्ती बाल्न तपाईँ सक्नुहुन्न भने मसँग मान्छे छन, म काम अगाडि बढाउँछु ।’
डिआइजी खनालले सडकमा ट्रिपर व्यवसायीको मनोमानी चलेको र दुर्घटनासमेत बढेकाले जथाभावी सवारी चलाउने र दादागिरी देखाउनेलाइ आफूले कारवाही गर्ने चेतावनी दिए । ‘केही गुन्डाले डाँडापाखा लिने अनि ट्रिपर संचालन गर्ने गरेको पाइएको छ । त्यस्ताको लगत मसँग छ । तिनका व्यवसाय नै बन्द गराइदिन्छु ।’
कार्यक्रममा कलाकार मनोज गजुरेल र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पनि मेयर शाक्यलाइ संवेदनशिल भएर अघि बढन सुझाव दिए । सिटौलाले त जथाभावी बाटो काटे २ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था पुनः सुरु गर्न माग समेत गरे । गृहमन्त्री जनार्दन शर्माले नबुझेको कारण यो व्यवस्था हटाइएकोमा उनको आक्रोश थियो ।
मोनोरेल आएपछि सबै सहज हुन्छ :मेयर शाक्य
सबैको गुनासो सुनिसकेपछि मेयर शाक्यले मोनोरेल संचालनमा आएपछि ट्राफिक र यातायात समस्या समधान हुने दावी गरे । यसो भन्दा हल नै हाँसोले गुञ्जिएको थियो । उनले मोनोरेल ल्याउने गृहकार्य भइरहेको समेत जानकारी दिए । मोनोरेल आफनै कार्यकालमा आउने उनको दावी थियो ।

मेयर शाक्यले राजधानीको खाल्डाखुल्डी पूर्न ढिलो भएको स्वीकार गरे । उनले बर्षायाममा पानी परिरहने र पुरेको माटो बगाएर लैजाने भएकाले किन बजेट खेर फाल्ने भन्दै प्रतिप्रश्न पनि गरे ।
कार्यक्रममा मेयर शाक्यप्रति थुप्रै जिज्ञासा पत्रकारहरुले राखे पनि उनी ढिलो भयो भन्दै हतारिएर निस्किए ।


