Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर धुमधामसंग मनाइँदैछ । घरको ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका घटना नहुने, सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट सुरक्षित हुने मान्यता छ ।
नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने परम्परा छ । नागपञ्चमीको दिन आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गर्ने चलन छ । नागपञ्चमीको दिन पशुपतिको वासुकी मन्दिर, धापाखेलस्थित नागदह, नक्सालस्थित नागपोखरी, कर्कोटकको बासस्थान रहेको मानिने टौदहलगायत स्थानमा विशेष मेला लाग्ने गर्दछ ।
आजै जनैपूर्णिमा
प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी र रक्षाबन्धन पनि आजै मनाइदै छ । 

साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण परेकाले आजै जनैपूर्णिमा एवम रक्षा वन्धन मनाउन लागिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
यसअघि विसं १९६३ र ०८२ तथा २०२८ र ०४७ मा पनि नागपञ्चमीका दिन रक्षाबन्धन पर्व मनाइएको थियो ।
आजकै दिन तागाधारीले आफ्नो जनै फर्ने गर्दछन । जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीन शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।
आजका दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाने चलनछ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने गर्दछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed